Wednesday, September 2, 2026
Homeसामाचारपर्यटन मन्त्रालयको सन्देश : ‘नेपाल बन्द छैन, भ्रमणका लागि खुला छ’

पर्यटन मन्त्रालयको सन्देश : ‘नेपाल बन्द छैन, भ्रमणका लागि खुला छ’

काठमाडौं । हालैको प्राकृतिक विपद्का कारण नेपालका विभिन्न क्षेत्रमा जनजीवन, घर, व्यवसाय तथा रोजगारी प्रभावित भए पनि देशका अधिकांश भूभागमा जनजीवन सामान्य रूपमा सञ्चालन भइरहेको सरकारले जनाएको छ।

विपद्बाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार सामाजिक सञ्जालमार्फत उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सबैप्रति आभार व्यक्त गरेको छ।

मन्त्रालयका अनुसार केही क्षेत्र प्रभावित भए पनि नेपालका अधिकांश स्थानमा मानिसहरू नियमित रूपमा काम गरिरहेका छन्, यात्रा गरिरहेका छन् र पर्यटकलाई स्वागत गरिरहेका छन्।

पर्यटन मन्त्रालयले विश्व समुदाय तथा अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रलाई ‘नेपाल बन्द छैन’ भन्ने सन्देश दिएको छ। नेपाल भ्रमणले विपद्बाट प्रभावित समुदायलाई सहयोग पुग्नुका साथै स्थानीय रोजगारी, व्यवसाय तथा जीविकोपार्जनलाई निरन्तरता दिन महत्वपूर्ण योगदान पुग्ने मन्त्रालयको भनाइ छ।

पर्यटकलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन मन्त्रालयमा क्विक रेस्पोन्स टिम सञ्चालनमा ल्याइएको छ। त्यस्तै, नेपाल पर्यटन बोर्डमा पर्यटन विभाग, पर्यटक प्रहरी तथा निजी क्षेत्रसँगको समन्वयमा पर्यटक सूचना डेस्क स्थापना गरिएको छ।

उक्त डेस्कमार्फत पर्यटकलाई समयमै सूचना, सहायता तथा आवश्यक सहजीकरण उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

सरकारले विपद्को कठिन समयमा नेपालसँग ऐक्यबद्धता जनाउँदै सुरक्षित तथा खुला रहेका गन्तव्यमा भ्रमण गर्न पर्यटक तथा विश्व समुदायलाई आग्रह गरेको छ।

सरकारको सन्देशमा भनिएको छ, ‘यो नेपालसँग उभिने समय हो, नेपाल भ्रमण गर्ने समय हो। नेपालले तपाईंलाई बोलाइरहेको छ।’

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका