काठमाडौं । बाढीको भेल रोकिए पनि त्यसले निम्त्याएको मानवीय पीडा र चुनौती भने कायमै छ। उद्धार तथा खोजी अभियानसँगै नेपाल प्रहरीले पहिचान हुन नसकेका शव र मानव अङ्गको व्यवस्थापन, हजारौँ बेपत्ताको खोजी, विस्थापितका खाली घरको सुरक्षा तथा विपद्को नाममा हुन सक्ने अपराध र गलत सूचना नियन्त्रणलाई चुनौतीका रूपमा सामना गरिरहेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार बाढीमा ठूलो मानवीय क्षति भएको छ। पछिल्लो विवरणअनुसार एक हजारभन्दा बढी शव फेला परिसकेका छन् भने विभिन्न स्थानबाट सयौँ मानव अङ्गसमेत संकलन गरिएको छ। धेरै शव क्षतविक्षत अवस्थामा रहेकाले आफन्तबाट प्रत्यक्ष पहिचान गर्न कठिन भएको उनले बताए।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा काफ्लेले बाढी अत्यन्तै अकल्पनीय र दुःखद् रूपमा आएको बताए। बाढीपछि मानिसहरू बेपत्ता हुनुका साथै ठूलो संख्यामा शव तथा मानव अङ्ग फेला परेको उनको भनाइ छ।
बाढीको प्रारम्भिक सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीले स्थानीय प्रहरी युनिटमार्फत उद्धार तथा खोजी अभियान सुरु गरेको थियो। रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र हाकु हुँदै नुवाकोटको देवीघाटसम्म बाढीको व्यापक प्रभाव परेको थियो। कतिपय प्रहरी युनिटसमेत सम्पर्कविहीन भएका थिए।
सञ्चार सम्पर्क विच्छेद भएपछि नेपाल प्रहरीको सञ्चार निर्देशनालयबाट विशेष टोली परिचालन गरी प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापना गरिएको काफ्लेले बताए। सुरुवाती चरणमा दर्जनौँ प्रहरी कर्मचारीसमेत हराएका थिए। तीमध्ये केहीको शव फेला परिसकेको छ भने २५ जना प्रहरी कर्मचारीको खोजी अझै जारी रहेको उनले जानकारी दिए।
४ हजार ६ सयभन्दा बढी बेपत्ता
प्रहरीका अनुसार बाढीपछि ४ हजार ६ सयभन्दा बढी नागरिक हराएको विवरण संकलन भएको छ। उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयमा आकस्मिक बैठक बसेर विभिन्न टोली परिचालन गरिएको थियो।
विपद् उद्धार, सूचना, समन्वय तथा व्यवस्थापनका लागि डीआईजीको नेतृत्वमा छुट्टै केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ। उक्त केन्द्रमा करिब ५० जना प्रहरी कर्मचारी सिफ्टअनुसार कार्यरत छन्। बेपत्ता व्यक्ति, शव व्यवस्थापन, उद्धार, खोजी, समन्वय, परिचालन तथा सामाजिक सञ्जाल अनुगमनका लागि छुट्टाछुट्टै डेस्क राखिएको छ।
नेपाली सेना, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायको समन्वयमा हेलिकप्टरमार्फत उद्धार भइरहेको छ। प्रहरीले सञ्चार टोली, ड्रोन, तालिमप्राप्त कुकुर, मेडिकल टोली तथा सडक व्यवस्थापनका लागि छुट्टाछुट्टै जनशक्ति परिचालन गरेको जनाएको छ।
क्षतविक्षत शव पहिचान चुनौतीपूर्ण
बाढीले बगाएर ल्याएका धेरै शव अत्यन्त क्षतविक्षत अवस्थामा छन्। कतिपय अवस्थामा शरीरको एउटा भाग मात्रै फेला परेको छ। हात, खुट्टा, टाउको वा शरीरका अन्य अङ्ग मात्र फेला परे पनि प्रहरीले कानुनी प्रक्रिया पूरा गरी सुरक्षित रूपमा संकलन गरिरहेको छ।
शव वा मानव अङ्ग फेला पर्नेबित्तिकै घटनास्थलको प्रकृति मुचुल्का, शव जाँच मुचुल्का, फोटो तथा भिडियो अभिलेख र फिंगरप्रिन्टलगायतका प्रमाण संकलन गर्ने व्यवस्था गरिएको छ। प्रत्येक शव तथा मानव अङ्गलाई छुट्टाछुट्टै नम्बर र ट्याग दिएर अभिलेख राखिएको छ।
फरेन्सिक चिकित्सक तथा अनुसन्धान अधिकृतको समन्वयमा डीएनए नमुना संकलन गरी प्रोफाइलिङ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी र पोखरालगायतका क्षेत्रमा फरेन्सिक विशेषज्ञ परिचालन गरिएको छ।
आफन्तको डीएनएबाट पहिचान
पहिचान हुन नसकेका शव तथा मानव अङ्गको पहिचानका लागि प्रहरीले नजिकका आफन्तको डीएनए नमुना संकलन गरिरहेको छ। आमा–बुवा वा छोराछोरीमध्ये एक जनाले नेपाल प्रहरी अस्पतालमा पुगेर रगतको नमुना दिन सक्ने व्यवस्था गरिएको छ।
आफन्तबाट संकलन गरिएको डीएनए प्रोफाइललाई शव वा मानव अङ्गबाट प्राप्त डीएनएसँग मिलाएर पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ। डीएनए मिलान भएपछि कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई शव हस्तान्तरण गरिने प्रहरीले जनाएको छ।
विदेशमा रहेका आफन्तका लागि पनि सम्बन्धित देशबाटै डीएनए परीक्षण गराएर आवश्यक विवरण तथा डीभीआई फाराममार्फत नेपाल प्रहरीसँग समन्वय गर्न सक्ने व्यवस्था गरिएको छ।
शव व्यवस्थापनमा पहिचान र सम्मानमा जोड
बाढीपछि ठूलो संख्यामा शव फेला परेकाले अस्पताल तथा शवगृहको क्षमताभन्दा बढी शव व्यवस्थापन गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ। चितवन, नवलपरासी, कपिलवस्तु र पोखरालगायतका स्थानमा समेत शव व्यवस्थापन गर्नुपरेको थियो।
लामो समयसम्म शव राख्दा स्वास्थ्य तथा वातावरणीय जोखिम बढ्ने भएकाले अन्तर्राष्ट्रिय अभ्यास, अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) का मापदण्ड तथा प्रचलित कानुनलाई आधार बनाएर सुरक्षित र सम्मानजनक रूपमा शव व्यवस्थापन गरिएको काफ्लेले बताए।
कतिपय स्थानमा शवलाई सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको छ। त्यसका लागि ट्यागिङ, नम्बरिङ, साइट प्लान तथा जीपीएस विवरणसमेत सुरक्षित राखिएको छ, ताकि भविष्यमा आवश्यक परे कुन शव कहाँ राखिएको छ भन्ने यकिन गर्न सकियोस्।
दुई फरेन्सिक प्रयोगशालामा चाप
नेपालमा डीएनए परीक्षणका लागि मुख्य रूपमा नेपाल प्रहरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा काम भइरहेको छ। ठूलो संख्यामा डीएनए प्रोफाइलिङ गर्नुपर्ने भएपछि दुवै प्रयोगशालामा कामको चाप बढेको प्रहरीले जनाएको छ।
यसलाई सहज बनाउन हेटौँडास्थित बागमती प्रदेश प्रहरी कार्यालयमा समेत फरेन्सिक संरचना स्थापना गर्ने तयारी भइरहेको छ। आवश्यक उपकरण ल्याइसकिएको र सेटअप तथा स्रोत व्यवस्थापनको काम अघि बढाइएको काफ्लेले बताए।
शव पहिचानको कामलाई तीव्र बनाउन नेपालमा उपलब्ध फरेन्सिक विशेषज्ञसँगै आवश्यकताअनुसार विदेशबाट समेत विशेषज्ञ ल्याउने तयारी भइरहेको छ।
अस्पतालदेखि विमानस्थलसम्म समन्वय
शव तथा घाइतेको व्यवस्थापनमा समन्वय गर्न विभिन्न अस्पतालमा प्रहरीका डीएसपी तहका अधिकृतलाई फोकल पर्सन तोकिएको छ। विमानस्थलमा पनि एसपीको नेतृत्वमा हेल्प डेस्क स्थापना गरिएको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा सडक तथा पुल बग्दा उद्धार र शव ओसारपसारसमेत चुनौतीपूर्ण बनेको छ। प्रारम्भिक विवरणअनुसार दर्जनौँ पुल बगेका छन् भने करिब ५० किलोमिटर सडक क्षतिग्रस्त भएको छ।
कतिपय क्षेत्रमा सडक सम्पर्क नहुँदा शवलाई हेलिकप्टर तथा वैकल्पिक मार्गमार्फत काठमाडौंलगायतका स्थानमा ल्याएर व्यवस्थापन गरिएको छ।
खाली घरको सुरक्षा पनि प्राथमिकतामा
बाढीपछि मानिसहरू विस्थापित भएर खाली भएका घर तथा संरचनाको सुरक्षा पनि प्रहरीका लागि अर्को चुनौती बनेको छ। यस्ता घरमा चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि हुन सक्ने जोखिम रहेकाले स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरी सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको छ।
विपद्को मौका छोपेर चोरी तथा लुटपाटमा संलग्न केही व्यक्तिलाई पक्राउसमेत गरिएको प्रहरीको भनाइ छ। बाढीले बगाएर ल्याएको शवबाट सुन लुटेको आरोपमा पक्राउ, बैंक चोरीमा संलग्न व्यक्तिको नियन्त्रण तथा राहतका नाममा ठगी गर्ने प्रयासमा संलग्न व्यक्तिमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।
राहतमा एकद्वार प्रणाली, गलत सूचनामाथि निगरानी
प्रहरीले राहत वितरणमा सरकारले तय गरेको ‘एकद्वार प्रणाली’ कार्यान्वयनमा सहयोग गरिरहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समिति, स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरी वास्तविक पीडित पहिचान गर्ने र उनीहरूसम्म राहत पुर्याउने कार्यमा प्रहरी परिचालित छ।
केन्द्रीय रूपमा संकलन हुने राहत सामग्री नेपाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने व्यवस्था गरिएको छ।
यस्तै, सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह, गलत सूचना, भ्रामक समाचार तथा डीपफेक सामग्रीमाथि पनि प्रहरीले निगरानी बढाएको छ। विपद्को समयमा गलत सूचना फैलाएर नागरिकमा भ्रम सिर्जना गर्ने वा राहत तथा उद्धार कार्यमा अवरोध पुर्याउने गतिविधिमाथि कानुनअनुसार कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।
स्वास्थ्य सुरक्षाको जोखिम
बाढीपछि उद्धारसँगै स्वास्थ्य जोखिमसमेत बढेको प्रहरीले जनाएको छ। दूषित पानी, हिलो तथा बाढीले बगाएर ल्याएका सामग्रीबाट संक्रमण फैलिन सक्ने भएकाले स्वच्छता तथा खानेपानीमा विशेष ध्यान दिन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरीले पानी उमालेर मात्र पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा बाढी प्रभावित क्षेत्रमा भेटिएका असामान्य खाद्य सामग्री प्रयोग नगर्न आग्रह गरेको छ।
उच्च जोखिमबीच प्रहरी परिचालन
बाढीले सडक, पुल तथा सञ्चार संरचना क्षतिग्रस्त बनाएपछि प्रहरी परिचालनमा समेत ठूलो चुनौती आएको छ। उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै उद्धार, खोजी, सुरक्षा, शव व्यवस्थापन, सञ्चार पुनःस्थापना तथा राहत समन्वयमा प्रहरी परिचालित रहेको काफ्लेले बताए।
बाढीको जोखिम अझै पूर्ण रूपमा हटिसकेको छैन। कतिपय क्षेत्रमा ठूलो परिमाणमा हिलो, पाँगो माटो तथा ढुंगा थुप्रिएका छन् भने पुनः बाढी आउन सक्ने जोखिमसमेत कायमै रहेको प्रहरीले जनाएको छ।
बाढीले निम्त्याएको तत्कालीन उद्धार चरणसँगै प्रभावित परिवारलाई आफन्तको पहिचान र शव बुझाउने, विस्थापित बस्ती तथा खाली घरको सुरक्षा गर्ने, राहतलाई वास्तविक पीडितसम्म पुर्याउने र विपद्को नाममा हुन सक्ने अपराध रोक्ने चुनौती थपिएको छ।
नेपाल प्रहरीका लागि यो विपद् उद्धारमा मात्र सीमित नभई मानवीय संवेदना, कानुनी प्रक्रिया, फरेन्सिक विज्ञान, सार्वजनिक सुरक्षा र सूचना व्यवस्थापनलाई एकसाथ अघि बढाउनुपर्ने बहुआयामिक चुनौती बनेको छ।


