Saturday, September 5, 2026
Homeसामाचारबाढीपहिरोमा १०० बस, ७० माइक्रोबस र ३०० मालवाहक सवारी सम्पर्कविहीन

बाढीपहिरोमा १०० बस, ७० माइक्रोबस र ३०० मालवाहक सवारी सम्पर्कविहीन

काठमाडौं । बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो संख्यामा सार्वजनिक तथा मालवाहक सवारीसाधन क्षतिग्रस्त तथा सम्पर्कविहीन भएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेशका अध्यक्ष सुवन गिरी ‘सुमन’ का अनुसार हालसम्मको प्रारम्भिक विवरणमा करिब १०० बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० मालवाहक टिपर तथा अन्य सवारीसाधन सम्पर्कविहीन छन्।

महासंघले विभिन्न कम्पनी, प्रालि, संघ तथा समितिबाट क्षतिको विवरण संकलन गरिरहेको छ। तर विपद्का कारण टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएकाले यकिन तथ्यांक प्राप्त हुन नसकेको महासंघले जनाएको छ।

गिरीका अनुसार रसुवागढी नाका आसपासमा रहेका कन्टेनरमा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक जानकारीअनुसार करिब ३०० कन्टेनर सम्पर्कविहीन छन्। भन्सार क्षेत्र, सडक तथा पार्किङमा रहेका र सामान ओसारपसारमा प्रयोग भइरहेका सवारीसाधनसमेत समेट्दा क्षतिको संख्या ५०० हाराहारी पुग्न सक्ने महासंघको अनुमान छ।

विपद्का कारण सवारीसाधनसँगै चालक, परिचालक, मजदुर तथा व्यवसायीसहित करिब ५०० जना सम्पर्कविहीन रहेको गिरीले बताएका छन्।

रसुवा–नुवाकोट क्षेत्रमा बढी क्षति

गिरीका अनुसार रसुवागढी नाकादेखि बेत्रावती, त्रिशूली बजार हुँदै देवीघाटसम्मको क्षेत्रमा सवारीसाधनमा ठूलो क्षति पुगेको छ। विशेषगरी नदी तथा खोलाको किनारमा रहेका सवारीसाधन बाढीको चपेटामा परेका छन्।

रसुवागढी नाकामा चीनबाट सामान ढुवानी गर्ने कन्टेनरको संख्या ठूलो रहेकाले त्यहाँ भएको क्षतिको वास्तविक विवरण संकलन गर्न समय लाग्ने उनले बताए। कन्टेनरसँगै चालक, मजदुर तथा व्यवसायीको अवस्थासमेत यकिन हुन बाँकी रहेको महासंघले जनाएको छ।

मानिसको उद्धारपछि सवारीको तथ्यांक संकलन

महासंघले विभिन्न सरकारी निकायसँग समन्वय गरी सम्पर्कविहीन सवारीसाधनको विवरण संकलन गरिरहेको छ। ट्राफिक प्रहरी तथा प्रहरी चेकपोस्टबाट समेत सवारी आवागमनसम्बन्धी विवरण लिने प्रयास भइरहेको छ।

तर विपद्का बेला राज्यको पहिलो प्राथमिकता मानवीय उद्धार र राहत भएकाले सवारीसाधनको यकिन तथ्यांक संकलनमा समय लाग्ने गिरीले बताए।

सडकमार्ग अझै जोखिमपूर्ण

बाढीपहिरोका कारण रसुवा–नुवाकोट सडकखण्डका विभिन्न स्थानमा यातायात प्रभावित भए पनि स्थानीय तह र सम्बन्धित निकायले जेसिबी तथा अन्य उपकरण प्रयोग गरी वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्।

गल्छी–धादिङ हुँदै नुवाकोट जाने सडकका विभिन्न खण्डमा कठिन अवस्था रहेको र कतिपय स्थानमा साना तथा ढुवानीका सवारीसाधन चल्न सक्ने गरी अस्थायी सडक बनाइएको गिरीले बताए।

रसुवाको कालिकास्थानसम्म बस तथा ट्रक सञ्चालन गर्न सकिने अवस्था रहे पनि त्यसभन्दा माथिको क्षेत्रमा यातायात पूर्ण रूपमा प्रभावित भएको उनले बताए। फसेका यात्रु तथा स्थानीयलाई उद्धार गरी कालिकास्थानसम्म ल्याउने र त्यहाँबाट पैदल सूर्यगढी गाउँपालिकाको सीमासम्म पुर्‍याउने काम भइरहेको छ। त्यसपछि महासंघले सवारीसाधनको व्यवस्था गरी उनीहरूलाई काठमाडौं तथा विदुरसम्म पुर्‍याइरहेको जनाएको छ।

विपद् पूर्वतयारी कमजोर रहेको गुनासो

गिरीले विपद्का बेला उद्धार तथा राहतका लागि आवश्यक उपकरण, प्रविधि र दक्ष जनशक्तिको अभाव देखिएको भन्दै सरकारको विपद् पूर्वतयारी कमजोर रहेको बताएका छन्।

दुर्गम क्षेत्रमा उद्धार उपकरण तथा प्रविधिको पहुँच नहुँदा फसेका व्यक्तिको अवस्था पहिचान गर्नसमेत कठिन भइरहेको उनले बताए। विपद् प्रभावित क्षेत्रमा जेसिबी, स्काभेटरलगायतका उपकरण तयारी अवस्थामा राख्न सके उद्धार तथा राहतमा सहज हुने उनको भनाइ छ।

वैकल्पिक मार्ग सञ्चालनमा जोड

रसुवागढी नाका प्रभावित भएपछि सरकारले वैकल्पिक सडक तथा सम्पर्क मार्गलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याउनुपर्ने गिरीले बताए।

नुवाकोटतर्फ छहरे, ढुङ्गे, नौबिसे, लच्याङ हुँदै सूर्यगढी गाउँपालिका र कालिकास्थान जोड्ने मार्गलाई जेसिबी तथा स्काभेटरको प्रयोग गरी सञ्चालनयोग्य बनाइएको उनले जानकारी दिए।

वर्षा कम भएमा उक्त मार्गबाट राहत सामग्री तथा अत्यावश्यक वस्तुको ढुवानी सहज बनाउन सकिने उनको भनाइ छ। बाढीले सडक तथा पुल बगाएका स्थानमा बेलिब्रिज, झोलुङ्गे पुललगायत अस्थायी संरचना निर्माणलाई तीव्रता दिनुपर्ने उनले बताए।

घरबारविहीनलाई आवासको व्यवस्था गर्न माग

गिरीले बाढीपहिरोबाट घरबारविहीन भएका नागरिकलाई खाद्यान्न वितरण मात्र पर्याप्त नहुने बताएका छन्। प्रभावित नागरिकका लागि गाँस, बास र कपासको व्यवस्था राज्यले तत्काल गर्नुपर्ने उनको भनाइ छ।

विशेषगरी परिवारका सदस्य गुमाएका तथा पूर्ण रूपमा घरबारविहीन भएका परिवारलाई राज्यले प्राथमिकताका साथ संरक्षण गर्नुपर्ने उनले बताए।

उद्धार तथा राहतमा यातायात व्यवसायी सक्रिय

महासंघले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सवारीसाधन परिचालन गरिरहेको जनाएको छ। खाद्यान्न तथा अन्य राहत सामग्री ढुवानीका लागि सवारीसाधन उपलब्ध गराउनुका साथै यात्रुका लागि निःशुल्क बस सेवा समेत सञ्चालन गरिएको गिरीले बताए।

विदुर नगरपालिका, सूर्यगढी गाउँपालिका तथा नुवाकोटका विभिन्न क्षेत्रबाट यात्रुलाई काठमाडौंसम्म पुर्‍याउने काम भइरहेको उनले जानकारी दिए।

महासंघले सम्पर्कविहीन तथा क्षतिग्रस्त सवारीसाधनको विवरण संकलनलाई निरन्तरता दिइरहेको जनाएको छ। सञ्चार सम्पर्क सहज हुँदै गएपछि थप विवरण प्राप्त हुने र क्षतिको वास्तविक अवस्था सार्वजनिक गर्न सकिने महासंघको अपेक्षा छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका