Monday, August 31, 2026
Homeराजनीतिसंकटको बेला सरकारको आलोचना होइन, सहयोग र सुझाव दिनुपर्छ : माधव नेपाल

संकटको बेला सरकारको आलोचना होइन, सहयोग र सुझाव दिनुपर्छ : माधव नेपाल

जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश अहिले गम्भीर संकटको अवस्थामा रहेकाले सरकारको आलोचना गर्नुभन्दा समस्या समाधानका लागि आवश्यक सुझाव र सहयोग दिनुपर्ने बताएका छन्।

आइतबार जनकपुरधाममा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालले विपद्को विषम परिस्थितिमा सरकारका कामकारबाहीप्रति आफूले निरन्तर निगरानी गरिरहेको बताए। उनले संकटको समयमा सरकारलाई आवश्यक सुझाव दिइरहेको र पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले विपद्का कारण बेपत्ता भएका नागरिकको खोजी कार्यलाई तीव्रता दिन तथा विभिन्न स्थानमा पुरिएका शवहरू निकालेर पहिचान गरी आफन्तको जिम्मा लगाउन सरकारको ध्यानाकर्षण गराए। बाढीमा बगेर भारतसम्म पुगेका शवसमेत भेटिन थालेको उल्लेख गर्दै उनले सीमापारिसमेत खोजी तथा समन्वयको कामलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिए।

नेपालले राहत वितरणलाई प्रभावकारी बनाउन तथा समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग र साथ दिन आफ्नो पार्टी तयार रहेको बताए। आगामी दिनमा पनि यस्तै प्राकृतिक विपद्को सामना गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले सरकारले अहिलेदेखि नै आवश्यक तयारी, स्रोतसाधन र व्यवस्थापनको बन्दोबस्त गर्नुपर्ने उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्री नेपालले आफू प्रधानमन्त्री हुँदा जलवायु परिवर्तन र वातावरण संरक्षणप्रति विश्वको ध्यानाकर्षण गराउन सगरमाथामा मन्त्रिपरिषद्को बैठकसमेत आयोजना गरेको स्मरण गरे। उनले बढ्दो प्राकृतिक विपद् न्यूनीकरणका लागि प्रकृति र वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तालाई वडा तहसम्म पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्न नेपालले निर्देशन दिए। उनले पार्टीले विगतमा गरेका कामबारे जनतालाई पर्याप्त जानकारी गराउन नसकेको स्वीकार गर्दै अब जनतामाझ पुगेर आफ्ना काम, उपलब्धि र आगामी योजनाबारे जानकारी गराउनुपर्ने बताए।

उनले पार्टीको प्रचारप्रसारमा विगतमा कमजोरी भएको स्वीकार गर्दै त्यसलाई सुधार गर्दै जनताको घरदैलोमा पुगेर पार्टीका गतिविधि र योगदानबारे जानकारी गराउने अभियान सञ्चालन गर्न नेता–कार्यकर्तालाई आग्रह गरे।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका