Sunday, August 30, 2026
Homeसामाचारउपल्लो मुस्ताङमा हिमताल विस्फोट र बाढीको जोखिमबारे ड्रोनबाट अनुगमन

उपल्लो मुस्ताङमा हिमताल विस्फोट र बाढीको जोखिमबारे ड्रोनबाट अनुगमन

मुस्ताङ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल विस्फोट तथा बाढीको जोखिम पहिचान गर्न स्थलगत र ड्रोन प्रविधिमार्फत अनुगमन सुरु गरिएको छ। हालसम्म निरीक्षण गरिएका क्षेत्रमा तत्काल जोखिमको कुनै संकेत नदेखिएको सरोकारवाला अधिकारीहरूले बताएका छन्।

भोटेकोशीमा हालै आएको विनाशकारी बाढीपछि उपल्लो मुस्ताङमा समेत उच्च हिमाली क्षेत्रको विपद् जोखिम पहिचान र पूर्वतयारीलाई तीव्रता दिइएको हो।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बलको बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान र आसपासका उच्च पर्वतीय क्षेत्रको निरीक्षण गरिरहेको छ।

एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल–चीन सीमास्थित १८ र १९ नम्बर सीमास्तम्भ नजिक रहेका कालीगण्डकीका दुई मुहानको स्थलगत तथा ड्रोनमार्फत निरीक्षण गरिएको थियो। हिमपातको अवस्था र सम्भावित जोखिम मूल्याङ्कन गर्दा हाल त्यहाँ कुनै खतरा नदेखिएको उनले बताए।

त्यसैगरी, दोस्रो चरणमा समुद्र सतहबाट करिब ५ हजार ५५० मिटर उचाइमा रहेको घ्याकरछु तालको निरीक्षण गरिएको छ। ड्रोनमार्फत गरिएको निरीक्षणमा हिमनदीका ढिस्काहरू देखिए पनि तत्काल जोखिमको संकेत नपाइएको पौडेलले जानकारी दिए।

टोलीले अब लोमान्थाङको चुमजुङस्थित छुआमा पिकको शिर तथा लोघेकर दामोदरकुण्ड–१ चराङमाथिको पर्वतीय क्षेत्रमा कालीगण्डकी नदी प्रणालीको अनुगमन गर्ने भएको छ। जीपीएसबाट ती क्षेत्रमा हिमताल रहेको देखिएपछि स्थलगत निरीक्षण गर्न लागिएको हो।

गत वर्ष चुमजुङमाथि छुआमा पिकबाट कालीगण्डकी नदी प्रणालीमा लेदोसहित बाढी आएपछि स्थानीय क्षेत्रमा जोखिम बढेको थियो।

उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने, हिमपहिरो जाने तथा बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदीका मुहान र संवेदनशील क्षेत्रको नियमित अनुगमन गरिने एक्यापले जनाएको छ। सम्भावित विपद्को पहिचान, प्रारम्भिक चेतावनी तथा प्रभावकारी प्रतिकार्यका लागि उच्च हिमाली क्षेत्रमा पूर्वतयारीलाई थप सुदृढ बनाइने भएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका