काठमाडौं । रसुवा–चीन सीमा क्षेत्रबाट आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि गैरआवासीय नेपाली (एनआरएन) अभियन्ताहरूले तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माण र पुनःस्थापनामा केन्द्रित भएर सहयोग अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
एनआरएनएका पूर्वउपाध्यक्ष सुनिल कुमार साहको पहलमा शुक्रबार आयोजित भर्चुअल बैठकमा सहभागी पूर्वअध्यक्ष, पदाधिकारी तथा अभियन्ताहरूले सरकारको ‘एकद्वार प्रणाली’सँग समन्वय गर्दै पारदर्शी र प्रभावकारी ढंगले सहयोग गर्नुपर्ने बताएका हुन्।
बैठकमा तत्काल सरकारको राहत संयन्त्रलाई सहयोग गर्ने, आवश्यकताअनुसार राहत सामग्री उपलब्ध गराउने तथा त्यसपछि प्रभावित क्षेत्रमा विद्यालय, स्वास्थ्य चौकी, आवास र अन्य पूर्वाधार पुनर्निर्माणमा योगदान गर्ने प्रस्ताव अघि सारिएको थियो। सहभागीहरूले प्रवासी नेपालीसँग रहेको आर्थिक स्रोतसँगै ज्ञान, सीप, प्रविधि र व्यवस्थापकीय क्षमताको समेत उपयोग गर्नुपर्नेमा जोड दिए।
एनआरएनएका निवर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठले विपद्को समयमा सरकार, राजनीतिक दल, सरकारी संयन्त्र तथा गैरसरकारी संस्थाहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए। उनले राहतलाई खाद्यान्न र कपडा वितरणमा मात्र सीमित नगरी प्राविधिक तथा नीतिगत सहयोगमा समेत विस्तार गर्नुपर्ने धारणा राखे।
पूर्वअध्यक्ष कुल आचार्यले विगतका राहत अभियानमा उठेका पारदर्शिता र रकम व्यवस्थापनसम्बन्धी प्रश्नबाट पाठ सिक्दै स्पष्ट संयन्त्र बनाउनुपर्ने बताए। सरकारको ‘एकद्वार प्रणाली’अन्तर्गत समन्वय गरेर सहयोग अघि बढाउनु उपयुक्त हुने उनको भनाइ थियो।
एनआरएनएका उपाध्यक्ष मनोज गोर्खालीले रसुवा र नुवाकोटमा अवस्था अझै जटिल रहेको उल्लेख गर्दै अब राहत सामग्री वितरणसँगै पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने बताए। उनले प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै वृद्धवृद्धाका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने बताए।
बैठकमा सहभागी अन्य अभियन्ताहरूले प्रभावित क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, आवास, पुल तथा सडक पुनर्निर्माणमा प्रवासी नेपालीको ज्ञान, सीप र प्राविधिक दक्षता उपयोग गर्नुपर्ने बताए। साथै, महिला, बालबालिका, वृद्धवृद्धा तथा अन्य संवेदनशील समूहका विशिष्ट आवश्यकतालाई राहत तथा पुनःस्थापनामा प्राथमिकता दिनुपर्नेमा जोड दिइयो।
एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सत्येन्द्र साहले तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए। उनले विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा प्रहरी चौकी पुनर्निर्माणमा एनआरएनएले एकीकृत रूपमा योगदान गर्न सक्ने धारणा राखे।
बैठकको अन्त्यमा पूर्वउपाध्यक्ष साहले प्राप्त सुझावका आधारमा सहयोगलाई तीन चरणमा अघि बढाउने प्रारम्भिक निष्कर्ष सुनाए। पहिलो चरणमा सरकारको ‘एकद्वार प्रणाली’ वा उपयुक्त माध्यममार्फत तत्काल सहयोग गर्ने, दोस्रो चरणमा विद्यालय, स्वास्थ्य चौकी तथा आवास पुनर्निर्माणसहित दीर्घकालीन पुनरुत्थानका लागि विशेषज्ञ टोली बनाउने र तेस्रो चरणमा सहयोग तथा खर्चलाई पारदर्शी रूपमा सार्वजनिक गर्ने योजना रहेको उनले बताए।
बैठकमा सहभागीहरूले विपद्को यस घडीमा तत्काल राहतका लागि सरकारसँग सहकार्य गर्दै त्यसपछि पुनर्निर्माण, पुनःस्थापना, शिक्षा, स्वास्थ्य, आवास तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा दीर्घकालीन र प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका छन्।


