काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर नगरपालिका तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
प्रधानमन्त्री शाह आज बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुगेका थिए। प्रभावित बस्तीको भौतिक अवस्था तथा बाढीबाट भएको क्षतिको अवलोकन गरेपछि प्रधानमन्त्रीको टोली काठमाडौं फर्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठक आह्वान गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आएका थिए। सोही क्रममा उनले विदुर तथा आसपासका बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था र क्षतिको प्रत्यक्ष जानकारी लिएका हुन्।
निरीक्षणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट क्षतिग्रस्त सडक, पुल तथा अन्य भौतिक संरचनाको अवस्था अवलोकन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग प्रभावित क्षेत्रको अवस्थाबारे छलफल गरेको थियो।
सो अवसरमा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य अत्यावश्यक पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
स्थलगत निरीक्षणपछि प्रधानमन्त्री शाहसहितको टोली आजै काठमाडौं फर्किएको छ।



