Wednesday, August 26, 2026
Homeसामाचारबाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, केही सडकमा राति सवारी रोक

बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, केही सडकमा राति सवारी रोक

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमयुक्त केही सडकमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ।

कोशी प्रदेशअन्तर्गत मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित राजदुवालीमा अविरल वर्षाका कारण सडक अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्गको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै मुख्य सडकमा समय तोकेर सवारी सञ्चालनमा रोक लगाइएको छ। काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइने गरिएको छ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा सम्भावित जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित खाल्टेमा बाढीका कारण त्रिशूली–मैजुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक खुलाउन केही समय लाग्ने बताइएको छ।

कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित रिजेगाड खोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

वर्षा जारी रहेकाले देशका अन्य स्थानमा समेत सडक अवरोध हुनसक्ने प्रहरीले जनाएको छ। लामो दूरीको यात्रामा निस्कनुअघि नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले यात्रु तथा चालकलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका