काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रेस) खरिद प्रकरणमा विस्तृत अनुसन्धान भइरहेको स्पष्ट पारेको छ ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका तर्फबाट जानकारी दिँदै सार्वजनिक लेखा समितिबाट प्राप्त निर्देशनमध्ये सुरक्षण मुद्रण केन्द्र खरिद प्रकरण अध्ययन तथा अनुसन्धानको क्रममा रहेको बताइएको हो ।
बैठकमा सांसदहरूले अख्तियारको कार्यशैली, ठूला भ्रष्टाचारका प्रकरणमा आयोगको भूमिकाका साथै संवैधानिक निकायको स्वायत्तताबारे प्रश्न उठाएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार प्रधानमन्त्रीको मातहतमा नरहेको भन्दै प्रधानमन्त्रीले बोलाउँदैमा आयोगका पदाधिकारी त्यहाँ जान नहुने धारणा राखे । आयोगका पदाधिकारीको कार्यशैलीका कारण अख्तियारले आफ्नो संवैधानिक दायित्व पूर्ण रूपमा पूरा गर्न नसकेको आरोप लगाउँदै उनले आयोगको मर्यादा कमजोर हुँदै गएको टिप्पणी गरे ।
सिंहले न्यायालय र अख्तियारजस्ता संवैधानिक निकायमा पूर्वकर्मचारीहरूको बाहुल्य रहेको भन्दै त्यस्ता संस्था ‘पूर्वकर्मचारीको क्लब’ बन्न नहुने बताए । उनले निजगढ विमानस्थलको जग्गा अधिग्रहणमा भएको भनिएको अनियमितता तथा ठूला व्यक्तिलाई उन्मुक्ति दिइएको विषयसमेत बैठकमा उठाए ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पनि अख्तियारको भूमिकामाथि प्रश्न उठाए । उनले लडाकु शिविर, गिरिबन्धु टी–इस्टेट, तारागाउँको जग्गा–सेयर, नेपाल आयल निगमको जग्गा खरिद, ओम्नी तथा एनसेलसँग सम्बन्धित चर्चित प्रकरणमा अख्तियारको अनुसन्धान र कारबाहीबारे प्रश्न गरे ।
शाहीले संवैधानिक परिषद्बाट हुने अख्तियारका आयुक्तहरूको नियुक्ति प्रक्रियामा सुधार गरी खुला प्रतिस्पर्धाबाट नियुक्त हुने व्यवस्था गर्नुपर्ने माग गरे । साथै, मन्त्रिपरिषद्का निर्णयमा अख्तियारको क्षेत्राधिकार आकर्षित नहुने कानुनी व्यवस्था पुनरावलोकन गर्नुपर्नेमा उनले जोड दिए ।


