काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरेका हुन्।
बैठकमा पार्टीका विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने तयारी गरिएको एक पदाधिकारीले जानकारी दिए।
सभापति लामिछानेले उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सहप्रवक्ता तथा केन्द्रीय सदस्य मनोनयनका लागि प्रस्ताव राख्ने तयारी गरेका छन्। रास्वपामा हाल ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी रहेको बताइएको छ।
त्यस्तै, बैठकमा पार्टी सचिवालय विस्तार गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ।
यसअघि साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेता मनोनयन गर्ने निर्णय गरेको थियो। सोही बैठकले पार्टीका पदाधिकारी रहने गरी सचिवालय गठन गर्ने निर्णयसमेत गरेको थियो।
केन्द्रीय समिति बैठकपछि भदौ ६ र ७ गते केन्द्रीय सदस्य तथा सांसदहरूका लागि आवासीय अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने तयारी गरिएको पार्टीले जनाएको छ।


