काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।
संघका अनुसार म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत आजदेखि ठप्प हुनेछ। आफ्ना माग सम्बोधन गर्न सरकारलाई पटक–पटक आग्रह गर्दा पनि आवश्यक चासो नदिइएको भन्दै आन्दोलनलाई थप कडा बनाउने निर्णय गरिएको संघले जनाएको छ।
यसअघि संघले आन्दोलनका विभिन्न चरणअन्तर्गत पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन र भिसा स्ट्याम्पिङलगायतका काम रोकिसकेको थियो। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानमा पठाउन दिइएको समयसीमा समेत समाप्त भएपछि सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ।
संघको निर्णयसँगै देशभरका म्यानपावर कम्पनीमार्फत हुने नयाँ मागपत्र प्रक्रिया, श्रमिक छनोट, कागजात तयारी तथा वैदेशिक रोजगारीमा श्रमिक पठाउने अन्य काम प्रभावित हुने भएका छन्।
संघले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ। म्यानपावर व्यवसायीको आन्दोलनका कारण वैदेशिक रोजगारीका लागि जाने तयारीमा रहेका हजारौँ श्रमिकसमेत प्रभावित हुने देखिएको छ।


