काठमाडौं । देशका प्रमुख नदीहरूको जलसतह हाल सतर्कता तहभन्दा तल रहे पनि विभिन्न जिल्लाबाट बग्ने साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार काठमाडौं उपत्यकासहित करिब तीन दर्जन जिल्लाका साना नदीमा आज बाढीको मध्यम जोखिम रहेको छ।
बिहानको मापनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली र महाकाली नदीको जलसतह सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव पनि सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ।
तर आज दिनभर संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक आसपासका साना नदीमा जलसतह उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी पूर्व तथा पश्चिम, रुकुम पूर्व तथा पश्चिम, जाजरकोट, डोल्पा, मुगु, सुर्खेत, बाँके र बर्दियालगायतका जिल्लामा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर आसपासका साना नदीमा समेत बाढीको सम्भावना रहेको छ। महाशाखाले नदी तथा खोलानाला आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
आगामी तीन दिन कोसी बेसिनका सप्तकोसी, तमोर, अरुण, दूधकोसी, तामाकोसी र सुनकोसी नदीको बहाव सामान्य रूपमा बढ्ने अनुमान गरिएको छ। कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा पनि बहाव सामान्य दरमै बढ्ने पूर्वानुमान छ।
यद्यपि नारायणी बेसिनअन्तर्गत देवघाट, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा आगामी तीन दिन जलसतह उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ। कर्णालीको चिसापानी, भेरी, पश्चिम सेती र महाकाली नदीमा पनि बहाव उल्लेख्य बढ्ने प्रक्षेपण गरिएको छ।
साना नदीका हकमा आगामी दुई दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा थप सतर्कता आवश्यक रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सी ती प्रदेशका केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले नदी तथा खोलानालामा सावधानी अपनाउन आग्रह गरिएको छ।



