काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी नेताहरूले पार्टीको आन्तरिक एकता, वैधानिकता र लोकतान्त्रिक विधिअनुसार संगठन सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
भेलालाई सम्बोधन गर्ने अधिकांश नेताले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउँदै विधान र लोकतान्त्रिक मूल्यमान्यताअनुसार पार्टी सञ्चालन हुनुपर्ने धारणा राखे। उनीहरूले मुलुकको राष्ट्रियता र संविधानमाथि चुनौती बढेको भन्दै पार्टीभित्रको गुटबन्दी अन्त्य गरी एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले मुलुकको राष्ट्रियता गम्भीर संकटमा रहेको बताउँदै त्यसको रक्षाका लागि पार्टीभित्रको पूर्ण एकता आवश्यक रहेको बताए। उनले विशेष महाधिवेशनलगायत अवैधानिक गतिविधिले संगठनलाई कमजोर बनाउने दाबी गर्दै नेतृत्वलाई विधिसम्मत बाटोमा अघि बढाउन दबाब दिनुपर्ने धारणा राखे।
अर्का नेता डा. शेखर कोइरालाले पनि मुलुक संकटग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै देशको अस्तित्व र राष्ट्रियतामाथि खतरा उत्पन्न भएको बताए। संसद् र प्रेस स्वतन्त्रताको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले वर्तमान परिस्थितिको गम्भीर समीक्षा गरी त्यसलाई चिर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।
पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीलाई विधि र विधानअनुसार अघि बढाउनुपर्नेमा जोड दिए। उनले विशेष महाधिवेशन विधिसम्मत नभएको दाबी गर्दै १४ औं महाधिवेशनको प्रक्रिया टुंग्याएर १५ औं महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताए।
नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगको कार्यशैली र विशेष महाधिवेशनको मान्यताप्रति आपत्ति जनाए। उनले पक्ष र विपक्षको धारणा तथा आधिकारिक अभिलेखको पर्याप्त अध्ययनबिनै आयोगले निर्णय गरेको भन्दै त्यसले निष्पक्षतामाथि प्रश्न उठाएको बताए। सर्वोच्च अदालतले पुनरावलोकनको बाटो खोलेकाले आयोगको निर्णय सच्याउने अवसर रहेको उनको भनाइ थियो।
पूर्वउपसभापति विमलेन्द्र निधिले १५ औं महाधिवेशन गर्ने वैधानिक अधिकार १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मात्र रहेको बताए। उनले वैधानिक प्रक्रियाबाहिरबाट गठन गरिएका कुनै पनि विशेष महाधिवेशन वा समितिलाई १५ औं महाधिवेशन गराउने अधिकार नरहेको दाबी गरे।
नेता विजयकुमार गच्छदारले गुटबन्दीभन्दा माथि उठेर अभिभावकीय भूमिका निर्वाह गर्न पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गरे। उनले देउवाले चाहे पार्टीभित्रको विवाद समाधान हुन सक्ने भन्दै व्यक्ति र समूहभन्दा माथि उठेर अघि बढ्न सुझाव दिए।
डा. प्रकाशशरण महतले १४ औं महाधिवेशनबाट निर्वाचित सभापति देउवालाई विस्थापित गर्न विशेष महाधिवेशनको बाटो रोजिएको आरोप लगाए। नियमित महाधिवेशनको सुनिश्चितता हुँदाहुँदै विशेष महाधिवेशनको प्रक्रियाले पार्टीलाई थप अन्योलमा पारेको उनको भनाइ थियो। देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरिने उनले दाबी गरे।
नेता रमेश लेखकले विशेष महाधिवेशनको माग र त्यसको कार्यविधि नै पार्टीभित्रको विवादको मुख्य कारण भएको बताए। उनले १४ औं महाधिवेशनको निरन्तरता र १५ औं महाधिवेशनको तयारीका पक्षधरबीच समन्वय आवश्यक रहेको धारणा राखे।
नेता नारायणप्रकाश साउदले पार्टीको आन्तरिक एकताका लागि १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकता कायम हुनुपर्ने बताए। विशेष महाधिवेशनको मागले संगठनलाई क्षति पुर्याएको दाबी गर्दै उनले निर्वाचित समितिको पुनर्स्थापनाबिना कांग्रेसभित्र वास्तविक एकता कायम हुन नसक्ने बताए।
कार्यक्रममा नेता मोहनबहादुर बस्नेतले सभापति गगन थापालाई आफ्नो पूर्वघोषणाअनुसार ५५ वर्षको उमेरमा राजनीतिबाट संन्यास लिने प्रतिबद्धता कार्यान्वयन गर्न चुनौती दिए। उनले आगामी निर्वाचनसम्म थापा ५५ वर्ष नाघ्ने भन्दै युवाका लागि बाटो प्रशस्त गर्न आग्रह गरे। बस्नेतले देउवाको नेतृत्व र रणनीतिका कारण कांग्रेस सबै तहमा शक्तिशाली बनेको दाबीसमेत गरे।
राष्ट्रिय भेलामा सहभागी नेताहरूका अधिकांश अभिव्यक्तिको केन्द्रमा पार्टीको वैधानिकता, विशेष महाधिवेशनको विवाद, १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको निरन्तरता र १५ औं महाधिवेशनको तयारी देखिएको थियो। साथै, मुलुकको वर्तमान राजनीतिक परिस्थितिको सामना गर्न कांग्रेसभित्रको एकता अपरिहार्य रहेको नेताहरूले बताएका छन्।


