मुस्ताङ । आगामी भदौमा आयोजना हुने जलवायु सम्मेलनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका ७५३ वटै स्थानीय तहलाई निम्तो दिएको छ।
गाउँपालिकाका अनुसार सम्मेलन भदौ ३० र ३१ गते मुस्ताङको सदरमुकाम जोमसोममा आयोजना हुनेछ। जलवायु परिवर्तनबाट उत्पन्न समस्या र चुनौती तथा जलवायु अनुकूलनका विषयमा साझा धारणा बनाउन सम्मेलन आयोजना गर्न लागिएको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले गाउँपालिकाले पहिलोपटक ऐतिहासिक रूपमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए।
सङ्घीय मामिला मन्त्रालयको समन्वयमा सबै स्थानीय तहलाई सम्मेलनमा सहभागी हुन पत्राचार गरिएको उनले बताए। सम्मेलनमा हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गरिनेछ। साथै जलवायु परिवर्तनका असर न्यूनीकरण तथा त्यसको सामना गर्न सामूहिक प्रतिबद्धतासहित ‘घरपझोङ घोषणापत्र, २०८३’ जारी गरिने तयारी छ।
सम्मेलनका लागि ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४५९ गाउँपालिकालाई एकैसाथ पत्राचार गरिएको बस्नेतले जानकारी दिए।
सम्मेलनमा जलवायु परिवर्तनका कारण स्थानीय तहमा देखिएका समस्या, विपद् तथा प्रभाव पहिचान गरी त्यसको न्यूनीकरणका उपाय र रणनीतिबारे छलफल हुनेछ। कालीगण्डकी नदी किनार, मुक्तिनाथ क्षेत्र र नीलगिरि हिमालको काखमा हुने बृहत् छलफलबाट हिमाली क्षेत्रका तर्फबाट जलवायु घोषणापत्र जारी गर्ने तयारी गरिएको छ।
सम्मेलनबाट जारी हुने साझा घोषणापत्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु परिवर्तनका असरविरुद्ध स्थानीय तहको साझा आवाज बुलन्द गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ।
सम्मेलनमा जलवायु परिवर्तनका असर झल्काउने तस्बिरको प्रदर्शनीसमेत आयोजना गरिनेछ। त्यसका लागि सबै स्थानीय तहलाई भदौ १५ गतेभित्र जलवायु परिवर्तनका असर झल्कने तस्बिर पठाउन आग्रह गरिएको छ। साथै स्थानीय तहका धारणा तथा घोषणापत्रमा समेट्नुपर्ने विषय उल्लेख गरी सोही मितिभित्र मस्यौदा पठाउन अनुरोध गरिएको बस्नेतले बताए।
गाउँपालिकासँग भगिनी सम्बन्ध भएका स्थानीय तह तथा मुस्ताङका अन्य स्थानीय तहको सहयोगमा सम्मेलनको तयारी भइरहेको छ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमपहिरो, हिमताल फुट्ने, बाढीपहिरो र नदी कटानजस्ता प्राकृतिक विपद्का घटना बढिरहेका छन्। यसबाट कृषि, पशुपालन, धर्म–संस्कृति तथा जैविक विविधतामा समेत ठूलो असर परेको छ।
हिमाली क्षेत्रमा असमान हिमपात हुने, खानेपानीका मुहान सुक्दै जाने, चरन क्षेत्र घट्दै जाने तथा मानव–वन्यजन्तु द्वन्द्व बढ्ने समस्या देखिन थालेको छ। यी समस्याका कारण पशुपालन व्यवसायसमेत प्रभावित हुँदै गएको गाउँपालिकाले जनाएको छ।


