Friday, August 7, 2026
Homeसामाचारविराटनगर विमानस्थलबाट अभिषेक गिरी पुनः पक्राउ

विराटनगर विमानस्थलबाट अभिषेक गिरी पुनः पक्राउ

विराटनगर। आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएका अभिषेक गिरी बिहीबार साँझ विराटनगर विमानस्थलबाट पुनः पक्राउ परेका छन्।

काठमाडौंबाट बुद्ध एयरको उडानमार्फत साँझ ७:०५ बजे विराटनगर पुगेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गिरीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा यसअघि नै अदालतबाट पक्राउ अनुमति लिइएको थियो। सोही पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

गिरी यसअघि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा परेका थिए। निर्माण व्यवसायीको जाहेरीका आधारमा सीआईबीले असार २३ गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं लगेको थियो।

अनुसन्धानपछि सीआईबीले ठगीसम्बन्धी मुद्दामा सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। त्यसपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। धरौटी बुझाएपछि रिहा भएका गिरी विराटनगर पुगेलगत्तै अर्को मुद्दामा पुनः पक्राउ परेका हुन्।

मोरङ प्रहरीले अब उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइने जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका