काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमानअनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई क्षेत्र नजिक रहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी र कर्णाली प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा, साथै मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको मौसम
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।
यसैगरी, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग, साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातिको मौसम
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, साथै लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।


