सरकारले वार्ताको सहमति सम्बन्धी कुनै आधिकारिक विवरण सार्वजनिक नगरे पनि वार्तामा सहभागी धार्मिक संघ–संस्थाका प्रतिनिधिहरूले सकारात्मक सहमति भएको दाबी गरेका छन्।
वार्तामा हिन्दु सम्राट सेना, विश्व हिन्दु परिषद्, राष्ट्रिय बजरंग दल, राष्ट्रिय एकता दल लगायतका संस्थाहरू आबद्ध संयुक्त हिन्दु मोर्चाका दुई दर्जनभन्दा बढी प्रतिनिधिले १३ बुँदे मागपत्र गृहमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए। त्यसअघि अर्को समूहले ६ बुँदे मागपत्र बुझाएको थियो।
दुवै पक्षले आफ्ना मागप्रति सरकार सकारात्मक भएको र गृहमन्त्रीबाट आवश्यक प्रतिबद्धता व्यक्त भएकाले आन्दोलन फिर्ता लिएको बताएका छन्। यद्यपि, सहमतिसम्बन्धी कुनै लिखित दस्तावेज हालसम्म सार्वजनिक गरिएको छैन।
आन्दोलनकारी पक्षका अनुसार प्रमुख मागमध्ये नेपाललाई हिन्दु राष्ट्र बनाउने विषयमा सर्वदलीय तथा सर्वपक्षीय छलफल अघि बढाउने प्रतिबद्धता गृहमन्त्रीले जनाएका छन्। एक पक्षले यसका लागि तीन महिनाभित्र प्रक्रिया सुरु गर्ने आश्वासन पाएको दाबी गरेको छ भने अर्को पक्षले एक महिनाभित्र बैठक बोलाउने प्रतिबद्धता आएको जनाएको छ।
आन्दोलनकारीहरूले दिगो शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा धार्मिक सहअस्तित्वलाई प्रवर्द्धन गर्न नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने विषयमा समयसीमा तोकी छलफल अघि बढाउनुपर्ने माग गरेका छन्। साथै, धार्मिक कार्यक्रमका नाममा हातहतियार प्रदर्शन रोक्न, कानुन उल्लंघन गर्नेहरूमाथि कारबाही गर्न, धार्मिक स्थलमा प्रयोग हुने ध्वनि विस्तारक उपकरणको व्यवस्थापन गर्न तथा आवश्यक अभिलेखीकरण र निगरानीको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ।
वार्तामा सहभागी विश्व हिन्दु परिषद्का अध्यक्ष सन्तोष साहले नेपाललाई हिन्दु राष्ट्र बनाउने विषय संसदमार्फत अघि बढाउने प्रतिबद्धता गृहमन्त्रीबाट व्यक्त भएको दाबी गरेका छन्। अन्य माग कार्यान्वयनका लागि पनि स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिने सहमति भएको उनको भनाइ छ।
त्यस्तै, हिन्दु सम्राट सेनाका प्रतिनिधि सन्नी भगतले पहिलो पटक तीनै तहका सरकारका प्रतिनिधि र सुरक्षा निकायको उपस्थितिमा भएको वार्तामा गृहमन्त्रीले सार्वजनिक रूपमा प्रतिबद्धता जनाएकाले माग पूरा हुने विश्वास व्यक्त गरे।
शनिबार बिहान सुरु भएको वार्ता राति अबेरसम्म चलेको थियो। वार्ताका क्रममा गृहमन्त्री गुरुङले साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको सहभागीहरूले बताएका छन्।


