काठमाडौं। काठमाडौं महानगरपालिका–३२ गोठाटारस्थित एक काठ गोदाममा शनिबार राति लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।
प्रहरीका अनुसार शनिबार राति करिब ९ः३० बजे सुरु भएको आगलागी सुरक्षाकर्मी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा दमकलको टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। उनीहरूको समन्वित प्रयासका कारण आगो थप फैलिन नपाई पूर्ण रूपमा निभाउन सफल भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार आगलागीको कारण अझै खुल्न सकेको छैन। घटनाबाट भएको भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ।
प्रहरीले आगलागीको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।


