काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा संलग्न मुख्य आरोपी सन्दीप सिंह पक्राउ परेका छन्।
कैलालीको घोडाघोडी नगरपालिका–११ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका ३३ वर्षीय सिंहलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी अनुपम शमशेर जबराले पुष्टि गरेका छन्।
साउन ८ गते सञ्चालित एमबीएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेभियर’ विषयको प्रश्नपत्र ह्वाट्सएपमार्फत बाहिरिएको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा यसअघि दुई जनालाई नियन्त्रणमा लिइएको थियो। तर, एक जनाको संलग्नता पुष्टि नभएपछि उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सन्दीप सिंहविरुद्ध शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। घटनाको थप अनुसन्धान सीआईबीअन्तर्गतको साइबर ब्युरोले गरिरहेको प्रहरीले जनाएको छ।


