विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि कोशी प्रदेश सरकारले बुधबार आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय छलफलमा सहभागी राजनीतिक दलका नेताहरूले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार थप सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकारले स्थिति सामान्य बनाउन प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औँल्याए। उनले नेपाल बहुजातीय र बहुसामुदायिक मुलुक भएकाले घटनाको जरोसम्म पुगेर निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताए।
थापाले आन्दोलनका क्रममा सक्रिय देखिएका समूहहरूको पृष्ठभूमि र परिचालनबारे पनि सत्यतथ्य सार्वजनिक गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।
यस्तै, नेकपा एमालेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेवतिरमण भण्डारीले प्रदेश सरकारले घटनाप्रति देखाएको चासोलाई सकारात्मक रूपमा लिँदै सुरक्षा निकायको मनोबल सुदृढ गर्नुपर्ने बताए।
उनले पछिल्ला आन्दोलनहरूका कारण प्रहरी दंगा नियन्त्रणका क्रममा आवश्यक निर्णय लिनसमेत हिच्किचाउने अवस्था देखिएको टिप्पणी गरे।
सर्वदलीय बैठकले देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको परिवारलाई कोशी प्रदेश सरकारबाट रु. २ लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ। साथै आगजनीबाट प्रभावित परिवार र घाइतेलाई जनही रु. ५० हजार आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको छ।
बैठकले शान्ति, सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन आठबुँदे निर्णय पारित गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकमा संवेदनशील परिस्थितिमा सबै राजनीतिक दल, सामाजिक संस्था र नागरिकले संयमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो।


