काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको आधुनिक सडक सुरुङमार्गको सपना साकार भएको छ। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सुरुङमार्ग उद्घाटनसँगै सञ्चालनमा ल्याउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ। उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) तथा अन्य सरोकारवालाको सहभागिता रहेको छ।
आयोजना निर्देशक सौजन्य नेपालका अनुसार प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनलाई प्राथमिकता दिइनेछ। अन्य सवारीसाधनलाई सुरक्षाको अवस्था, चाप र सञ्चालन अनुभवका आधारमा क्रमशः अनुमति दिइनेछ।
पाँच वर्षपछि सम्पन्न
नागढुंगा सुरुङमार्ग निर्माणको औपचारिक शुभारम्भ सन् २०१९ नोभेम्बर १४ मा भएको थियो। निर्माणको मुख्य ठेक्का जापानी कम्पनी हाजमा एन्डो कर्पोरेसनले पाएको थियो।
निर्माणका क्रममा पहिरो, स्थानीय अवरोध, भौगोलिक जटिलता तथा सुरक्षासम्बन्धी प्राविधिक व्यवस्थापनका कारण आयोजना निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो।
यस्तो छ सुरुङमार्ग
- मुख्य सुरुङको लम्बाइ: २,६८८ मिटर (२.६८ किमी)
- उद्धार (रेस्क्यु) सुरुङ: २,५५७ मिटर
- पूर्वतर्फ एप्रोच सडक: २.३ किमी
- पश्चिमतर्फ एप्रोच सडक: ५६५ मिटर
यस आयोजनाअन्तर्गत नेपालकै पहिलो फ्लाइओभर, पुल, अन्डरपास, ओभरपास तथा अन्य सहायक संरचनासमेत निर्माण गरिएको छ।
लागत करिब २४ अर्ब रुपैयाँ
आयोजनाको प्रारम्भिक अनुमानित लागत २२ अर्ब ८२ करोड रुपैयाँ रहे पनि समय थपिनु र मुआब्जा विवादका कारण लागत बढेर करिब २४ अर्ब रुपैयाँ पुगेको छ।
जसमध्ये जाइकाको सहुलियतपूर्ण ऋणबाट १७ अर्ब १५ करोड रुपैयाँ र बाँकी रकम नेपाल सरकारले व्यहोरेको छ।
समय र इन्धन दुवै बचत
आयोजना कार्यालयका अनुसार सुरुङमार्ग सञ्चालनमा आएपछि:
- ठूला सवारीसाधनको करिब ३५ मिनेट समय बचत हुनेछ।
- साना सवारीसाधनको करिब २० मिनेट समय बचत हुनेछ।
- सडक दूरी करिब ३ किलोमिटर छोटिनेछ।
दैनिक आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्ने नागढुंगा–नौबिसे खण्डमा ट्राफिक जाम घट्ने र इन्धनको उल्लेखनीय बचत हुने अपेक्षा गरिएको छ।
दुईपाङ्ग्रे र ज्वलनशील पदार्थ बोकेका सवारी निषेध
सुरक्षाका कारण मोटरसाइकल, स्कुटर तथा ज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।
यस्तो छ टोल शुल्क
सरकारले सुरुङमार्ग प्रयोगका लागि सवारीसाधनअनुसार टोल शुल्क निर्धारण गरेको छ।
- कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस: काठमाडौं प्रवेश गर्दा रु. ६५, बाहिरिँदा रु. ६०
- मिनीबस, मिनी ट्रक: प्रवेश रु. १२५, बाहिरिँदा रु. ८०
- बस तथा ठूला ट्रक: प्रवेश रु. २६०, बाहिरिँदा रु. २००
- मल्टिएक्सल ट्रक तथा ट्रेलर: प्रवेश रु. ६००, बाहिरिँदा रु. २५०
थप सुरुङमार्ग निर्माणको तयारी
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा देशका विभिन्न स्थानमा थप एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणका लागि ६७ करोड १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
विशेषज्ञहरूका अनुसार नागढुंगा सुरुङमार्गको सञ्चालनसँगै नेपाल आधुनिक सडक सुरुङ प्रविधिको नयाँ युगमा प्रवेश गरेको छ। साथै, सिद्धबाबा सुरुङमार्ग र काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गतका सुरुङहरू निर्माणाधीन रहेकाले आगामी वर्षहरूमा सुरुङ पूर्वाधारको विस्तार अझ तीव्र हुने अपेक्षा गरिएको छ।


