काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६७औँ वार्षिक दिवसका अवसरमा कार्यक्रमस्थल बाहिर प्रदर्शन गरेका २३ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का उपसभापति सनम वली, सचिव हिक्मतकुमार बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा, डम्बरसिंह ऐरी, प्रकाश सन्जेललगायत रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरमा राखिएको प्रहरीले जनाएको छ।
त्रिवि स्ववियु सभापति दीपकराज जोशीका अनुसार वार्षिक दिवसको कार्यक्रममा प्रवेश गर्न खोज्दा विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनका अनुसार विश्वविद्यालयलाई न्यून बजेट विनियोजन गरिएको विरोध गर्न विद्यार्थीहरू कार्यक्रमस्थल पुगेका थिए।
जोशीले भने, “विश्वविद्यालयमा पर्याप्त बजेट नदिइएको विषयमा शान्तिपूर्ण रूपमा विरोध गर्न खोज्दा हामीलाई कार्यक्रमस्थलमा प्रवेश गर्नै दिइएन। सहकुलपति समेत रहेका शिक्षामन्त्री सहभागी कार्यक्रममा विद्यार्थीलाई रोक्नु उचित होइन।”
प्रदर्शनकारी विद्यार्थीहरूले विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्न, प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था खारेज गर्न तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका थिए।
यसैबीच, शिक्षामन्त्री सस्मित पोख्रेल सहभागी कार्यक्रममा बाहिर ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थप ६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।


