Thursday, July 16, 2026
Homeअन्तराष्ट्रियअमेरिका–इरान तनाव चुलियो, हर्मुज र लाल सागरमा संकट गहिरिने चेतावनी

अमेरिका–इरान तनाव चुलियो, हर्मुज र लाल सागरमा संकट गहिरिने चेतावनी

काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव पुनः चर्किएको छ। अमेरिकाले इरानका तटीय रक्षा प्रणाली र मिसाइल प्रक्षेपण केन्द्रहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरेपछि दुवै देशबीचको तनाव थप बढेको हो।

यसको जवाफमा इरानले हर्मुज जलडमरूमध्य हुँदै हुने विश्वको महत्वपूर्ण ऊर्जा आपूर्तिलाई रोक्न सक्ने चेतावनी दिएको छ। इरानले यस द्वन्द्वलाई आफ्नो ‘अस्तित्वको लडाइँ’को संज्ञा दिँदै हर्मुज जलडमरूमध्यमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरेको छ।

इरानले युद्धको प्रभाव हर्मुज जलडमरूमध्यमा मात्र सीमित नरही लाल सागर (रेड सी) सम्म फैलिन सक्ने चेतावनी पनि दिएको छ। अमेरिकी सैन्य कारबाही जारी रहे यमनस्थित इरान समर्थित हूती विद्रोहीहरूले अन्तर्राष्ट्रिय व्यापारका लागि महत्वपूर्ण समुद्री मार्गमा आक्रमण तीव्र बनाउन सक्ने संकेत इरानले दिएको छ।

यसले विश्वका दुई प्रमुख समुद्री व्यापारिक मार्ग—हर्मुज जलडमरूमध्य र लाल सागर—एकैसाथ प्रभावित हुन सक्ने जोखिम बढाएको विश्लेषण गरिएको छ। यी मार्गहरूमा अवरोध आए विश्वव्यापी ऊर्जा आपूर्ति, तेल ढुवानी र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्ने सम्भावना रहेको छ।

अमेरिकाले हर्मुज जलडमरूमध्यमा जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने उद्देश्यले इरानका सैन्य पूर्वाधार, तटीय रक्षा प्रणाली र मिसाइल केन्द्रहरूमा आक्रमण गरेको बताइएको छ।

यता, इरानले छिमेकी मुलुकहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। तेहरानले आफ्ना सर्तहरू स्वीकार नभएसम्म हर्मुज जलडमरूमध्य खुला नहुने अडान दोहोर्‍याएको छ।

भूराजनीतिक विश्लेषकहरूका अनुसार यदि लाल सागरमा हूती विद्रोहीहरूको आक्रमण थप बढेमा विश्वव्यापी आपूर्ति शृङ्खला, समुद्री ढुवानी र ऊर्जा बजारमा ठूलो दबाब पर्न सक्छ। त्यसको प्रत्यक्ष प्रभाव तेलको मूल्य, ढुवानी खर्च तथा विश्व अर्थतन्त्रमा देखिन सक्ने उनीहरूको भनाइ छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका