वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानविरुद्ध जारी सैन्य कारबाही आफूले रोक्न निर्देशन नदिएसम्म निरन्तर जारी रहने चेतावनी दिएका छन्। उनले विद्युत् उत्पादन केन्द्र, पुल तथा अन्य महत्त्वपूर्ण पूर्वाधारहरू पनि सम्भावित सैन्य निशानामा पर्न सक्ने संकेत गरेका छन्।
यसैबीच, इरानी सञ्चारमाध्यमहरूले देशको दक्षिणी क्षेत्रका विभिन्न सहर तथा तटीय टापुहरूमा लगातार विस्फोट भइरहेको जनाएका छन्। विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य आसपासका केही टापुहरूमा पनि विस्फोटको आवाज सुनिएको बताइएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले मंगलबार कुवेत, बहराइन र जोर्डन मा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। यद्यपि, उक्त दाबीबारे अमेरिकाले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
बढ्दो तनावबीच अमेरिकाले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी पुनः लागू गरेको जनाएको छ। साथै, हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजहरूमा २० प्रतिशत अतिरिक्त महसुल (ट्यारिफ) लगाउने प्रस्ताव भने फिर्ता लिइएको बताइएको छ।
मध्यपूर्वमा चुलिँदै गएको सैन्य तनावले विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय समुद्री व्यापार तथा क्षेत्रीय सुरक्षामाथि गम्भीर प्रभाव पर्ने चिन्ता बढेको छ। विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक मानिने हर्मुज जलडमरूमध्य मा अस्थिरता बढेमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य र आपूर्ति शृङ्खलामा प्रत्यक्ष असर पर्न सक्ने विश्लेषण गरिएको छ।


