Wednesday, July 15, 2026
Homeमुख्य समाचारराष्ट्रपति पौडेलद्वारा भानुजयन्तीको शुभकामना, भानुभक्तको योगदान अतुलनीय रहेको उल्लेख

राष्ट्रपति पौडेलद्वारा भानुजयन्तीको शुभकामना, भानुभक्तको योगदान अतुलनीय रहेको उल्लेख

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली भाषाप्रेमीमा शुभकामना व्यक्त गरेका छन्।

सोमबार जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा पुर्‍याएको योगदानको स्मरण गर्दै नेपाली भाषालाई जनताको भाषाका रूपमा स्थापित गर्न उहाँको भूमिका ऐतिहासिक रहेको उल्लेख गरेका छन्।

राष्ट्रपतिले वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा जन्मिएका भानुभक्तलाई नेपाली साहित्यको प्राथमिक कालका प्रतिनिधि कविका रूपमा स्मरण गरेका छन्।

उनले संस्कृत भाषामा रचित वाल्मीकि रामायणलाई सरल, शिष्ट र रोचक नेपाली भाषामा भावानुवाद गरेर भानुभक्तले नेपाली साहित्यको सुदृढ आधार निर्माण गरेको उल्लेख गरेका छन्। राष्ट्रपति पौडेलका अनुसार भानुभक्तीय रामायणले हिमाल, पहाड र तराईका नेपालीबीच भावनात्मक एकता सुदृढ बनाउन तथा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

सन्देशमा राष्ट्रपति पौडेलले भानुभक्तको योगदान नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्द्धनमा अतुलनीय रहेको उल्लेख गर्दै उहाँले नेपालीभाषी समुदायबीच भाषिक एकता र सांस्कृतिक पहिचान सुदृढ बनाउन महत्त्वपूर्ण योगदान दिएको बताएका छन्।

राष्ट्रपति पौडेलले भानुभक्तको जन्मस्थललाई साहित्यिक, ऐतिहासिक तथा सांस्कृतिक गन्तव्यका रूपमा संरक्षण र विकास गर्न सकेमा उहाँप्रति सच्चा सम्मान हुने विश्वास पनि व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका