भक्तपुर । गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकारका उच्चस्तरीय मन्त्रीहरूको टोलीले आइतबार भक्तपुरस्थित खरिपाटी र बोडेमा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेको छ।
सुकुम्बासीहरूको जीवनयापन, उनीहरूले भोगिरहेका समस्या तथा सरकारी सेवा–सुविधाको अवस्थाबारे जानकारी लिन टोलीले होल्डिङ सेन्टरको निरीक्षण गरेको हो।
अनुगमन टोलीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता, सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेल तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव सहभागी थिए।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले होल्डिङ सेन्टरमा बसोबास गरिरहेका नागरिकको सुरक्षा, आधारभूत सेवा र समग्र अवस्थाबारे जानकारी लिँदै प्रभावकारी व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयहरूबीच समन्वय आवश्यक रहेको बताए।
भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले ठोस योजना अघि बढाउने तयारी गरिरहेको जानकारी दिइन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले सेन्टरमा बसोबास गर्नेहरूको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्दै आवश्यक स्वास्थ्य सेवा सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।
त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सुकुम्बासी परिवारको जीविकोपार्जनमा सुधार ल्याउन रोजगारीका अवसर सिर्जना र सीपमूलक तालिमलाई प्राथमिकता दिइने बताए।
स्थलगत अनुगमनपछि मन्त्रीहरूको टोलीले होल्डिङ सेन्टरमा देखिएका समस्याको समाधानलाई प्राथमिकतामा राखेर आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ।


