काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुकुमवासी तथा भूमिहीन नागरिकको समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन्।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गर्दै आएका सुकुमवासी परिवारसँगको छलफलका क्रममा उनले सुकुमवासी तथा भूमिहीन नागरिकको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताए।
“तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो। सरकारले यस विषयलाई गम्भीर रूपमा बुझेको छ,” गृहमन्त्री गुरुङले भने, “समस्या समाधानका लागि यहाँहरूको पनि सहयोग आवश्यक छ।”
उनले सुकुमवासी तथा भूमिहीन नागरिकको समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको उल्लेख गर्दै यस विषयलाई राजनीतिक स्वार्थको माध्यम बनाउन नहुने बताए।
गृहमन्त्री गुरुङले सरकार, स्थानीय समुदाय र सरोकारवाला पक्षबीचको सहकार्यबाट मात्रै दीर्घकालीन र दिगो समाधान सम्भव हुने विश्वास व्यक्त गरे।