काठमाडौं। अमेरिका र इरानबीच शनिबार हुने वार्ताअघि वासिङ्टनले तेहरानसँग हर्मुज जलडमरूमध्य सुरक्षित रहेको सार्वजनिक रूपमा घोषणा गर्न आग्रह गरेको छ।
अमेरिकी प्रशासनले इरानले हर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय व्यावसायिक जहाजका लागि खुला रहेको र ती जहाजहरूमाथि गोलीबारी नगर्ने प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त गरोस् भन्ने चाहेको जनाएको छ।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजका अनुसार ह्वाइट हाउसले इरानले व्यावसायिक जहाजहरूमाथि भएको गोलीबारीलाई गल्तीका रूपमा स्वीकार गर्न पनि चाहेको छ।
रिपोर्टमा नाम नखुलाइएका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारहरूसँगको निजी छलफलमा जहाजमाथिको गोलीबारीलाई ‘गल्ती’ भएको स्वीकार गरेको दाबी गरिएको छ। यद्यपि, इरानले उक्त घटनाको जिम्मेवारी आफ्ना समर्थक विद्रोही समूहहरूमध्ये एकमाथि लगाएको बताइएको छ।
यसअघि जुन महिनामा अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौताअनुसार इरानले व्यावसायिक जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको थियो।
सीबीएस न्यूजका अनुसार अमेरिकी अधिकारीहरूले इरानबाट प्राप्त जानकारी उद्धृत गर्दै कट्टरपन्थी विद्रोही समूहले व्यावसायिक जहाजमाथि आक्रमण गरी दुई देशबीच जारी वार्तालाई विफल पार्ने प्रयास गरेको दाबी गरेका छन्।
रिपोर्टमा एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, “उनीहरू (इरानी पक्ष) वार्ताको टेबलमा फर्किए र भने, ‘हामीबाट गल्ती भयो, अब वार्ता जारी राखौँ।’”


