Sunday, July 19, 2026
Homeसामाचारराहदानी विभागअगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको निधन, पुर्खौली गाउँ शोकमा

राहदानी विभागअगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको निधन, पुर्खौली गाउँ शोकमा

मुगु/काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनको पुर्खौली गाउँ शोकमा डुबेको छ। उनको जन्मघर अहिले सुनसान बनेको छ भने गाउँभरि शोकको वातावरण छ।

मुगुको सोरु गाउँपालिका–१ पुग्न सदरमुकाम गमगढीबाट करिब ६ घण्टाको सडक यात्रा गर्नुपर्छ। गणेशको निधनको खबर गाउँभरि फैलिनासाथ स्थानीयवासी स्तब्ध बनेका छन्।

रोजगारीको अभावका कारण परिवारसहित भक्तपुरमा बस्दै आएका गणेश राइड–सेयरिङ सेवा (पठाओ) मार्फत मोटरसाइकल चलाएर परिवारको जीविकोपार्जन गर्दै आएका थिए।

स्थानीय पदमबहादुर मल्लका अनुसार गणेशको आर्थिक अवस्था निकै कमजोर थियो। उनले चलाउँदै आएको मोटरसाइकलसमेत भाडामा लिएको थियो। यस्तो अवस्थामा राज्यले शोकसन्तप्त परिवारको उचित हेरचाह र सहयोग गर्नुपर्ने उनले बताए।

अर्का स्थानीय सुरेश साहीले पनि गणेशको परिवार न्यून आयस्तरको रहेको बताए। उनका अनुसार परिवारसँग थोरै मात्र जग्गा छ, जुन हाल बाँझै रहेको छ। उनले पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र राज्यले नागरिकप्रति आफ्नो जिम्मेवारी महसुस गराउनुपर्ने माग गरे।

स्थानीय मल्ल र साहीले गरिबी र कठिन परिस्थितिबीच संघर्ष गरिरहेका गणेशको दुःखद निधनले गाउँलाई मर्माहत बनाएको बताए।

प्रत्यक्षदर्शीका अनुसार बिहीबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीले गणेशले पार्किङ गरेको मोटरसाइकलमा ह्विल लक लगाई नियन्त्रणमा लिन खोजेपछि विवाद भएको थियो। त्यसपछि उनले राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल वीर अस्पताल पुर्‍याइएको थियो।

उपचारका क्रममा शुक्रबार बिहान उनको निधन भएको अस्पतालले जनाएको छ। चिकित्सकहरूले उनको अवस्था अत्यन्तै गम्भीर रहेकाले थप उपचारका लागि भारतको नयाँ दिल्ली रिफर गर्ने तयारी गरिएको भए पनि स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि रिफर गर्न सम्भव नभएको बताएका थिए। त्यसको केही समयपछि उनको मृत्यु भएको हो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका