काठमाडौं। अमेरिका र इरानबीच सैन्य तनाव फेरि बढ्दै जाँदा इजरायल पनि आवश्यक परे पुनः सैन्य कारबाहीमा सहभागी हुन सक्ने संकेत दिएको छ। यद्यपि, इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयपछि मात्रै थप कदम चाल्ने जनाएको छ।
इजरायलको सार्वजनिक प्रसारक ‘कान’ र न्यूयोर्क पोस्टका अनुसार यरुशलमका वरिष्ठ अधिकारीहरूले अमेरिका–इरानबीचको वर्तमान सैन्य तनाव अझ केही दिन जारी रहने आकलन गरेका छन्। उनीहरूको बुझाइमा वासिङ्टनले आवश्यक ठानेमा इजरायल अमेरिकी अभियानमा सहभागी हुन सक्छ।
एक इजरायली अधिकारीका अनुसार आवश्यकता परे इजरायल पुनः सैन्य कारबाही गर्न तयार छ। उनले इजरायलले विगतमा पनि अमेरिकासँग सहकार्य गरेको उल्लेख गर्दै इरानका गतिविधिलाई बेवास्ता गर्न नसकिने बताएका छन्। यद्यपि, इजरायली नागरिकहरू पुनः युद्धको अवस्था नआओस् भन्ने चाहना राख्ने उनले स्वीकार गरेका छन्।
यता, इजरायली रक्षा बल (आईडीएफ.) का अधिकारीहरूले भने हालका लागि इजरायल अमेरिका–इरानबीच जारी प्रत्यक्ष सैन्य संघर्षमा सहभागी हुने योजना नरहेको बताएका छन्। सेनाको मूल्यांकनअनुसार इरानले पनि तत्काल इजरायललाई यस द्वन्द्वमा तान्ने प्रयास गरिरहेको देखिँदैन र निकट भविष्यमा इजरायलमाथि ठूलो आक्रमण हुने सम्भावना कम रहेको आकलन गरिएको छ। त्यसका बाबजुद सम्भावित जोखिमलाई ध्यानमा राख्दै सेनालाई उच्च तयारी अवस्थामा राखिएको जनाइएको छ।
यसैबीच, अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले हालैका सैन्य आक्रमणहरू हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यापारिक जहाजमाथि भएका इरानी हमलाको जवाफस्वरूप गरिएको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग भएको अन्तरिम सम्झौता अब प्रभावहीन भएको बताएका छन्। उनले वार्तामा पर्याप्त समय खर्च भइसकेको उल्लेख गर्दै अब थप वार्ताभन्दा अन्य विकल्पमा केन्द्रित हुने संकेत दिएका छन्।


