Wednesday, July 8, 2026
Homeअन्तराष्ट्रियदमास्कसमा म्याक्रोँको भ्रमणका बेला होटल नजिक दुई विस्फोट, १८ जना घाइते

दमास्कसमा म्याक्रोँको भ्रमणका बेला होटल नजिक दुई विस्फोट, १८ जना घाइते

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको सिरिया भ्रमणका क्रममा राजधानी दमास्कसमा उनी बसेको होटल नजिकै भएका दुई विस्फोटमा कम्तीमा १८ जना घाइते भएका छन्। घाइतेमध्ये चार जना प्रहरी अधिकारी रहेका छन्।

सिरियामा बसर अल–असदको सत्ता पतनपछि अहमद अल–शाराको नेतृत्वमा नयाँ सरकार गठन भएको अवस्थामा म्याक्रोँ सिरिया भ्रमण गर्ने पहिलो युरोपेली सङ्घ (ईयू) का राष्ट्र प्रमुख बनेका छन्।

विस्फोट दमास्कसको केन्द्रस्थित फोर सिजन्स होटल, पर्यटन मन्त्रालय र राष्ट्रिय सङ्ग्रहालय आसपास भएको थियो। पहिलो विस्फोट राष्ट्रपति म्याक्रोँको सवारी टोली होटलबाट राष्ट्रपतीय भवनतर्फ प्रस्थान गरेलगत्तै भएको थियो भने दोस्रो विस्फोट उद्धार कार्यका क्रममा नजिकै भएको बताइएको छ।

फ्रान्सेली राष्ट्रपति कार्यालय एलिसी प्यालेसले म्याक्रोँ सुरक्षित रहेको पुष्टि गर्दै विस्फोट हुँदा उनी राष्ट्रपतीय भवनतर्फ गइसकेको जनाएको छ। घटनापछि पनि उनले आफ्नो पूर्वनिर्धारित कार्यक्रमअनुसार सिरियाली राष्ट्रपति अहमद अल–शारासँग भेटवार्ता गरेका थिए।

घटनापछि सामाजिक सञ्जाल एक्समार्फत म्याक्रोँले सिरियाली जनताको शान्तिपूर्ण, सुरक्षित र एकताबद्ध राष्ट्र निर्माणको आकांक्षाप्रति फ्रान्सको समर्थन दोहोर्याउँदै आफ्नो भ्रमण जारी रहने बताएका छन्।

विस्फोटलगत्तै सिरियाली सुरक्षा निकायले घटनास्थल आसपासका सडकहरू बन्द गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ। घटनाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन भने सुरक्षा अधिकारीहरूले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेका छन्। केही दिनअघि पनि दमास्कसमा भएको अर्को बम विस्फोटमा सर्वसाधारणको ज्यान गएको थियो, जसमा अतिवादी समूहको संलग्नताको आशंका गरिएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका