काठमाडौं। दैलेखको जलजले क्षेत्रमा ११२.१ अर्ब घनमिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको प्रारम्भिक अध्ययनबाट पुष्टि भएको सरकारले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० दिने उपलब्धि प्रतिवेदन अनुसार उक्त ग्यास भण्डारको व्यावसायिक उपयोग गर्न सके नेपालका ऊर्जा, कृषि र औद्योगिक क्षेत्रमा उल्लेखनीय परिवर्तन आउने सम्भावना रहेको छ।
प्रतिवेदनका अनुसार यस ग्यासबाट करिब २०० मेगावाट विद्युत उत्पादन गर्न सकिने प्रारम्भिक अनुमान गरिएको छ। साथै, दैनिक २ हजार २०० टन युरिया मल उत्पादन गर्न सकिने सम्भावनासमेत औँल्याइएको छ, जसले नेपालमा लामो समयदेखि देखिँदै आएको रासायनिक मलको अभाव न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउन सक्ने विश्वास गरिएको छ।
यसका अतिरिक्त, प्राकृतिक ग्यासबाट सीएनजी (Compressed Natural Gas) र पीएनजी (Piped Natural Gas) उत्पादन गरी सवारीसाधन र घरायसी प्रयोजनमा प्रयोग गर्ने सम्भावनासमेत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
सरकारले भने परियोजनाको सफल कार्यान्वयनका लागि ठूलो लगानी, आवश्यक पूर्वाधार निर्माण तथा प्राविधिक क्षमता विकास प्रमुख चुनौती रहेको जनाएको छ।
यी चुनौतीलाई सम्बोधन गर्न विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्रता दिइने, आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि विश्वविद्यालयसँग सहकार्य गरिने तथा प्राकृतिक ग्यास क्षेत्रका राष्ट्रिय मापदण्ड विकासलाई प्राथमिकतामा राखिने सरकारको योजना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।


