काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ।
न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको हो।
पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइका क्रममा सर्वोच्चले विशेष अदालतमा विचाराधीन सुलभ अग्रवाल र दीपक भट्टसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको हो।
अदालतले विशेष अदालतबाट प्राप्त हुने मिसिलमा रहेका कागजात, प्रमाण तथा अन्य सम्बन्धित विवरणहरूको विस्तृत अध्ययन गरेपछि मात्र रिटमाथिको थप सुनुवाइ अघि बढाउने जनाएको छ।
सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा उठाइएका विषय र विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाबीच कानुनी सम्बन्ध देखिएकाले न्यायिक निरूपणका लागि सक्कल फाइल आवश्यक रहेको ठहर गरेको हो।
अब विशेष अदालतबाट मिसिल प्राप्त भएपछि त्यसको अध्ययनका आधारमा सर्वोच्च अदालतले रिटमाथि थप सुनुवाइ र आवश्यक आदेश जारी गर्नेछ।


