काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइराला को संयुक्त इजलासले आइतबार अनुसन्धानका लागि थप तीन दिनको म्याद दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसपछि विशेष अदालतले असार ९ गते पहिलो पटक सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
पहिलो म्याद सकिएपछि अनुसन्धान अझै बाँकी रहेको भन्दै प्रहरीले पुनः म्याद थपका लागि अदालतमा निवेदन दिएको थियो। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।
प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान जारी रहेको जनाएको छ भने मुद्दाको थप अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताएको छ।


