Monday, June 29, 2026
Homeसामाचार‘धान उत्पादन बढ्यो, तर नेपाल अझै आत्मनिर्भर छैन’

‘धान उत्पादन बढ्यो, तर नेपाल अझै आत्मनिर्भर छैन’

काठमाडौं । नेपालमा पछिल्ला वर्षहरूमा धान उत्पादन बढ्दै गए पनि देश अझै धान र चामलमा आत्मनिर्भर बन्न नसकेको धानबाली विज्ञ प्रा.डा. विष्णु विलास अधिकारी ले बताएका छन्। खेतीयोग्य जमिनको घट्दो क्षेत्रफल, सीमित सिंचाइ, जलवायु परिवर्तन र रासायनिक मलमा बढ्दो निर्भरता धान उत्पादनका प्रमुख चुनौती रहेको उनको भनाइ छ।

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै प्रा.डा. अधिकारीले धान नेपालीहरूको मुख्य खाद्यान्न बन्दै गएको बताए। विगतमा मकै, गहुँ, कोदो र फापरको प्रयोग बढी हुने गरे पनि अहिले खानपानको बानी परिवर्तनसँगै धानको माग उल्लेखनीय रूपमा बढेको उनले बताए।

खेतीयोग्य जमिन घट्दै, उत्पादन भने बढ्दो

उनका अनुसार केही दशकअघि करिब १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा अहिले यो घटेर करिब १४ लाख २० हजार हेक्टर मा सीमित भएको छ। बस्ती विस्तार, सडक निर्माण, घडेरी विकास तथा खेतीयोग्य जमिन बाँझो रहने प्रवृत्तिले धान खेतीको क्षेत्रफल घट्दै गएको उनले बताए।

यद्यपि, गत आर्थिक वर्षमा करिब ५९ लाख ६० हजार टन धान उत्पादन भएको र औसत उत्पादकत्व ४.१९ टन प्रतिहेक्टर पुगेको जानकारी उनले दिए। उनका अनुसार यो वृद्धि मुख्यतः पर्याप्त वर्षा र केही क्षेत्रमा सिंचाइ सुधारका कारण सम्भव भएको हो।

“उत्पादन बढेको छ, तर उत्पादकत्व अझै अपेक्षाकृत कम छ,” उनले भने। “नेपालको अधिकांश खेती अझै पनि मनसुनी वर्षामै निर्भर छ।”

सिंचाइ र जलवायु परिवर्तन ठूलो चुनौती

प्रा.डा. अधिकारीका अनुसार नेपालमा करिब ३० देखि ३५ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सुनिश्चित सिंचाइ सुविधा पुगेको छ। बाँकी अधिकांश खेती वर्षाको भरमा हुने भएकाले मनसुन कमजोर हुँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने गरेको उनले बताए।

समयमै वर्षा नहुनु, रोपाइँको समयमा खडेरी पर्नु र बाली भित्र्याउने बेला अत्यधिक वर्षा हुनुजस्ता जलवायु परिवर्तनका असरले धान उत्पादन प्रभावित भइरहेको उनको भनाइ छ।

रासायनिक मलमा निर्भरता बढ्दो

नेपालमा मल उद्योग नहुँदा अधिकांश रासायनिक मल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए। समयमै मल उपलब्ध नहुने समस्या दोहोरिने र किसानहरू सन्तुलित मलको सट्टा युरियामा बढी निर्भर हुँदा माटोको उर्वराशक्ति घट्दै गएको उनको विश्लेषण छ।

उनले गोठे मल, कम्पोस्ट, हरियो मल तथा जैविक मलको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै माटोको गुणस्तर सुधार नगरी दीर्घकालीन उत्पादन वृद्धि सम्भव नहुने बताए।

वर्षेनी ५० अर्बको धान–चामल आयात

प्रा.डा. अधिकारीका अनुसार नेपालले प्रत्येक वर्ष करिब ४५ देखि ५० अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरिरहेको छ। उत्पादन बढे पनि देश आत्मनिर्भर हुन नसकेको उल्लेख गर्दै उनले खाद्यान्न आयातमा अत्यधिक निर्भर रहनु जोखिमपूर्ण हुने चेतावनी दिए।

भारतले सुगन्धित धानबाहेक अन्य धान निर्यातमा कडाइ गरेको सन्दर्भ उल्लेख गर्दै उनले भविष्यमा पैसा भएर पनि खाद्यान्न किन्न कठिन हुने अवस्था आउन सक्ने बताए।

सरकारलाई पाँच सुझाव

उनले धानमा आत्मनिर्भर बन्न सरकारले निम्न विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए–

  • सिंचाइ प्रणालीको विस्तार
  • स्वदेशमै रासायनिक मल उद्योग स्थापना
  • गुणस्तरीय उन्नत बीउको सहज वितरण
  • किसानलाई नियमित प्राविधिक तालिम
  • कृषि अनुसन्धान, कृषि विभाग र विश्वविद्यालयबीच प्रभावकारी समन्वय

उनका अनुसार उन्नत बीउ मात्र प्रयोग गर्दा पनि १५ देखि २५ प्रतिशतसम्म उत्पादन वृद्धि गर्न सकिन्छ।

हाइब्रिड बीउ र माटोको उर्वराशक्ति पनि चुनौती

प्रा.डा. अधिकारीले नेपालमा हाइब्रिड धानको प्रयोग बढ्दै गएको भए पनि अधिकांश बीउ भारत र चीनबाट आयात हुने गरेको बताए। हाइब्रिड जातले उत्पादन बढाए पनि लागत उच्च हुने र रासायनिक मलमा निर्भरता बढाउने भएकाले दीर्घकालीन रूपमा माटोको उर्वराशक्तिमा असर पर्ने उनको भनाइ छ।

युवालाई कृषि र अन्न विविधीकरणमा जोड

उनले कृषि क्षेत्रलाई सम्मानजनक र आकर्षक पेसा बनाउनुपर्नेमा जोड दिँदै विदेशिएका युवालाई आधुनिक प्रविधिसहित कृषि क्षेत्रमा फर्काउनुपर्ने बताए।

साथै, धानमा अत्यधिक निर्भरता घटाएर मकै, गहुँ, कोदो, फापर र चिनोजस्ता वैकल्पिक अन्नबालीको उत्पादन तथा उपभोग बढाउनुपर्ने सुझाव दिए। जुम्ली मार्सी, छुम्रुङलगायत स्थानीय धानका जातको संरक्षण र प्रवर्द्धनसँगै उन्नत जातको प्रयोग विस्तार गर्न सके नेपालको धान उत्पादनमा उल्लेखनीय सुधार गर्न सकिने उनको निष्कर्ष छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका