विराटनगर । नेपाली कांग्रेसका नेता अभिषेक गिरीको विराटनगरस्थित निवासमा प्रहरीले खानतलासी गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगर–८, मधुमारास्थित गिरीको घरमा शनिबार छापा मारेको हो।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार घरमा शङ्कास्पद वस्तु रहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको हो।
‘हामीलाई घरमा शङ्कास्पद वस्तु रहेको सूचना प्राप्त भएको थियो। सोही आधारमा प्रहरी टोलीले खानतलासी सुरु गरेको हो,’ एसपी कटुवालले भने।
प्रहरीले शङ्कास्पद वस्तुको प्रकृति वा खानतलासीका क्रममा केही बरामद भए–नभएकोबारे भने हालसम्म कुनै विस्तृत जानकारी सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


