काठमाडौं । देशका पूर्वी तथा मध्य भूभागमा मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्रमा, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेको छ। अन्य भूभागमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो हिमाली तथा पहाडी क्षेत्र र कोशी प्रदेशको तराईमा सामान्यतया बदली रहनेछ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने जनाइएको छ। साथै, कोशी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्न सक्ने तथा बागमती र गण्डकी प्रदेशका तराईमा तापक्रम बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशमा सामान्यतया बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले तातो हावा चल्ने र तापक्रम बढ्ने सम्भावना रहेका क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन आग्रह गरेको छ।


