काठमाडौं । देशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव कायम रहँदा आज केही स्थानमा वर्षा हुने र तराईका केही क्षेत्रमा तातो लहरको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
हाल देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभाग र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ। मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।
मौसमविद्का अनुसार देशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहरको प्रभाव रहने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तातो दिन रहने मौसम पूर्वानुमान गरिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


