Wednesday, June 24, 2026
Homeअर्थ र ब्यापारललितपुर महानगरको ७ अर्ब ४८ करोडको बजेट, सम्पदा संरक्षणदेखि दिगो शहरी विकासमा...

ललितपुर महानगरको ७ अर्ब ४८ करोडको बजेट, सम्पदा संरक्षणदेखि दिगो शहरी विकासमा जोड

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महानगरले विकास निर्माण, सम्पदा तथा संस्कृति संरक्षण, सुशासन, सामाजिक समावेशीकरण र दिगो शहरी विकासलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको हो।

बुधबार बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरवासीका आवश्यकता र समस्यालाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको बताइन्। उनले सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका वर्ग, समुदाय र क्षेत्रलाई विकासको मूलधारमा समेट्दै राम्रा अभ्यासलाई निरन्तरता दिने लक्ष्य लिइएको उल्लेख गरिन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गठित स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको सिफारिसका आधारमा प्रस्तुत बजेटअनुसार कुल खर्च ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँ रहनेछ। यसमध्ये चालु खर्चतर्फ २ अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ विनियोजन गरिएको छ।

महानगरपालिकाका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म ३ अर्ब ४३ करोड ७६ लाख ९१ हजार रुपैयाँ अर्थात् ५१.२ प्रतिशत बजेट खर्च भएको छ। यसमध्ये चालुतर्फ ७२ प्रतिशत र पुँजीगततर्फ ४१ प्रतिशत खर्च भएको जनाएको छ।

आगामी वर्षको बजेटले स्थानीय कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धन, सार्वजनिक जग्गाको संरक्षण, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र सुशासनलाई विशेष प्राथमिकतामा राखेको छ।

यस्तै संस्थागत सुदृढीकरण, दिगो पूर्वाधार निर्माण, शहरी विकास, स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, महिला सशक्तीकरण, सामाजिक समावेशीकरण, पर्यटन विकास, सहकारी तथा उद्यम प्रवर्द्धन, युवा तथा खेलकुद, बालमैत्री कार्यक्रम, विपद् व्यवस्थापन, रोजगार सिर्जना र गरिबी न्यूनीकरणलाई पनि बजेटका प्रमुख प्राथमिकता क्षेत्र बनाइएको छ।

महानगरले निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजसँगको सहकार्यलाई थप विस्तार गर्दै प्रविधिमैत्री, जवाफदेही र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने तथा प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यसमेत अघि सारेको छ।

महानगरपालिकाले सीमित स्रोत–साधनका बाबजुद विकास निर्माण, सम्पदा संरक्षण, सेवा प्रवाह सुधार र सुशासनलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका