Saturday, September 19, 2026
Homeसामाचारकोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षा हुने, तराईमा तातो लहरको सम्भावना

कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षा हुने, तराईमा तातो लहरको सम्भावना

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभाग र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ भने मधेस प्रदेशमा आंशिक बदली रहने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहरको अवस्था रहने तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तातो दिन रहने सम्भावना रहेको जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ। मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेस प्रदेशको तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका