काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका अधिकांश भूभाग तथा गण्डकी प्रदेशका केही क्षेत्र र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशका अन्य भागमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर (हीटवेभ) को अवस्था कायम रहने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तातो दिनको प्रभाव देखिन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका तराईका एक-दुई स्थानमा समेत वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। जबकि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।


