काठमाडौं । हाल नेपालमा कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव सक्रिय रहेको छ भने अन्य क्षेत्रमा स्थानीय तथा पूर्वीय वायूको आंशिक प्रभाव देखिएको छ।
हाल कोशी प्रदेश तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।
आज दिउँसो देशका अधिकांश हिमाली र पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थान, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशीको तराई तथा मधेश प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा तातो लहर (हिटवेभ) को प्रभाव रहने सम्भावना रहेको छ भने बागमती र गण्डकीका तराई क्षेत्रमा पनि गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन्।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी र गण्डकीका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सम्भावित वर्षा, चट्याङ्ग र तातो लहरबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।


