Thursday, June 18, 2026
Homeसामाचारआज पनि वर्षा र हिमपातको सम्भावना, तराईका केही क्षेत्रमा गर्मी बढ्ने

आज पनि वर्षा र हिमपातको सम्भावना, तराईका केही क्षेत्रमा गर्मी बढ्ने

काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखासहित स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा बदली र वर्षाको अवस्था देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका हिमाल र पहाडी भूभाग तथा गण्डकी र बागमती प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने अन्य तराई क्षेत्रको मौसम मुख्यतः सफा छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, कोशी र मधेश प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यसैबीच लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा तातो दिनको अनुभव हुन सक्ने बताइएको छ।

आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग, लुम्बिनी प्रदेशको हिमाली क्षेत्र तथा कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने महाशाखाको अनुमान छ।

रातिको समयमा पनि कोशी प्रदेशका केही स्थान, गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै कोशी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका