बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बडिमालिका नगरपालिका–७ स्थित जिल्ली क्षेत्रमा पाँच वर्षदेखि निरन्तर सक्रिय रहेको पहिरो नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको छ। पहिरोका कारण सडक अवरुद्ध हुने र स्थानीय बासिन्दाले सास्ती खेप्नुपर्ने अवस्था अन्त्य गर्न यो निर्माण कार्य सम्पन्न गरिएको हो।
मार्तडी–कोल्टी सडकखण्ड बाजुराको उत्तरी क्षेत्रका चार स्थानीय तहका साथै कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लासम्म जोड्ने महत्वपूर्ण सडकमार्ग हो। वर्षायाममा बारम्बार पहिरो जाँदा सडक अवरुद्ध हुने र यातायात सेवा प्रभावित हुने समस्या रहँदै आएको थियो।
बडिमालिका नगरपालिका–७ का वडाध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्यायका अनुसार स्थानीयवासीको माग र पहलपछि विभिन्न तहमा समन्वय गरी पहिरो नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समेत स्थलगत निरीक्षण गरी पहिरो नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
पूर्वाधार विकास कार्यालय साँफेबगरले करिब १ करोड २० लाख रुपैयाँको लागतमा तटबन्ध तथा अन्य संरचना निर्माण गरेको जनाएको छ। निर्माण सम्पन्न भएसँगै पहिरो नियन्त्रणमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
यद्यपि, पहिरो प्रभावित क्षेत्र नजिकै रहेको लक्ष्मी माध्यमिक विद्यालय अझै जोखिममुक्त हुन सकेको छैन। वर्षायाममा पहिरोको जोखिमका कारण विद्यालयको पठनपाठन प्रभावित हुने गरेको स्थानीयले बताएका छन्। विद्यालयको दीर्घकालीन सुरक्षाका लागि थप संरक्षणका उपाय आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।


