काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गर्दै कनेक्ट आइपिएस्, विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढेको भन्दै ग्राहकलाई सतर्क रहन आग्रह गरेको छ।
कम्पनीका अनुसार यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द गरिएको वा अन्य समस्या देखिएको भन्दै ग्राहकलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रलोभन दिइने गरेको पाइएको छ।
नेपाल टेलिकमले ग्राहकलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंकप्रति विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरण सुरक्षित राख्न कम्पनीले आग्रह गरेको छ।
टेलिकमले अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, ओटिपी, पासवर्ड, पिन, सिभिभी लगायतका संवेदनशील विवरण कसैसँग पनि साझा नगर्न सुझाव दिएको छ। साथै बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी जानकारी प्राप्त गर्दा सम्बन्धित संस्थाका आधिकारिक माध्यम मात्र प्रयोग गर्न आग्रह गरेको छ।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्था वा सेवा प्रदायकलाई तत्काल जानकारी गराउन समेत कम्पनीले अनुरोध गरेको छ।
ग्राहकहरूको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नेपाल टेलिकमले यस्ता साइबर ठगी तथा भ्रामक गतिविधिबाट सुरक्षित रहन सबै ग्राहकलाई सचेत रहन आग्रह गरेको छ।


