काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखासँगै स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा बदली, वर्षा र हिमपातको अवस्था देखिएको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेश प्रदेशमा आंशिक बदली छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। बाँकी पहाडी भूभाग तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।
कोशी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थान तथा मधेश प्रदेशका केही क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
रातिको समयमा कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने मधेश प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।
मौसमविद्ले मेघगर्जन, चट्याङ तथा हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।


