काठमाडौँ । नेपालमा हाल पश्चिमी चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभाव कायम रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। यस प्रणालीको प्रभावका कारण बुधबार पनि देशका अधिकांश स्थानमा हल्का वर्षा भएको थियो।
विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै, मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साथै, मेघगर्जन र चट्याङका बेला सुरक्षित स्थानमा रहन तथा मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा लिन सर्वसाधारणलाई सुझाव दिइएको छ।


