म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसार क्षेत्रमा निर्माणाधीन नदी नियन्त्रण योजना निर्धारित समयभन्दा एक महिनाअघि नै सम्पन्न भएको छ। म्याग्दी नदीको कटान तथा बाढीको जोखिमबाट तातोपानी बस्तीलाई जोगाउने उद्देश्यले जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले उक्त योजना कार्यान्वयन गरेको हो।
कार्यालयका इन्जिनियर नरजङ गुरुङका अनुसार मसारस्थित म्याग्दी नदी किनारमा १०२ मिटर लामो, भुइँमा चार मिटर चौडाइ र तीन मिटर उचाइको कङ्क्रिट संरचनामाथि ग्यावियन पर्खाल निर्माण गरिएको छ। उक्त संरचना ‘कम्पोजिट’ प्रविधिबाट निर्माण गरिएको हो।
योजनाको अनुमानित लागत तीन करोड ६८ लाख ८६ हजार ४८६ रुपैयाँ रहेको थियो। निर्माणका लागि आरआरसी/जेमी जेभीसँग २०८२ वैशाख १० गते दुई करोड ७१ लाख ८४४ रुपैयाँमा सम्झौता गरिएको थियो।
निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीका अनुसार आगामी असार २० गतेसम्म सम्पन्न गर्नुपर्ने योजना गत माघदेखि निर्माण सुरु गरी लक्ष्यभन्दा करिब एक महिना अगावै पूरा गरिएको हो। इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद समयमै काम सम्पन्न गरिएको उनले बताए।
वि.सं. २०७८ मा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसार क्षेत्रमा ठूलो कटान गरेको थियो। त्यस क्रममा मसारका दुई घर बगेका थिए। नयाँ संरचना निर्माणपछि नदी कटानको जोखिममा रहेका सरस्वती माध्यमिक विद्यालय, ज्वालामाई भगवती आमा समूहको भवन तथा मसारका १७ घरपरिवार प्रत्यक्ष रूपमा सुरक्षित भएका छन्।
वडाध्यक्ष अणबहादुर खड्काका अनुसार करिब एक सय परिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार अझै पनि नदी कटानको जोखिममा छ। यसअघि ग्यावियन पर्खालमार्फत नदी नियन्त्रण गरिँदै आएकामा पछिल्ला वर्षहरूमा पक्की संरचना निर्माणलाई प्राथमिकता दिइएको छ।
गत वर्ष सङ्घीय सरकारको बजेट सहयोगमा सरस्वती मावि पछाडि ६६ मिटर लामो कम्पोजिट पर्खाल निर्माण गरिएको थियो। त्यसैगरी प्रदेश सरकारको सहयोगमा उपल्लो तातोपानी बजार पछाडि ४० मिटर लामो विभिन्न नदी नियन्त्रण संरचना निर्माण गरिनुका साथै यस वर्ष विनियोजित २० लाख रुपैयाँबाट थप संरचना निर्माण गरिएको छ।
प्राकृतिक तातोपानी कुण्डका कारण प्रसिद्ध सिंगा तातोपानी म्याग्दी जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। नदी नियन्त्रणका संरचना निर्माणसँगै स्थानीय बस्ती र पर्यटकीय क्षेत्रको सुरक्षा थप मजबुत हुने अपेक्षा गरिएको छ।


