Wednesday, June 3, 2026
Homeअर्थ र ब्यापारसमस्याग्रस्त सहकारीका सञ्चालकहरूको विवरण सार्वजनिक, सम्पत्ति लुकाएको सूचना दिन आग्रह

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको विवरण सार्वजनिक, सम्पत्ति लुकाएको सूचना दिन आग्रह

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका विभिन्न सहकारी संस्थाका सञ्चालकहरूको विवरण सार्वजनिक गरेको छ।

समितिको २०८३ जेठ ८ गतेको निर्णयअनुसार बचतकर्ताको रकम फिर्ता, सम्पत्ति खोजी तथा दायित्व व्यवस्थापन प्रक्रियालाई थप प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले उक्त विवरण सार्वजनिक गरिएको जनाएको छ।

सार्वजनिक विवरणमा समस्याग्रस्त घोषित सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरूको नाम, ठेगाना र पारिवारिक विवरणसमेत समावेश गरिएको छ।

कार्यालयका अनुसार हालसम्म हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो संसार बहुउद्देश्यीय सहकारी संस्था तथा नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लगायतका संस्थाका पदाधिकारीहरूको नामावली सार्वजनिक सूचीमा समावेश गरिएको छ।

कार्यालयले प्रकाशित विवरणमा कुनै त्रुटि, फरक जानकारी वा अद्यावधिक गर्नुपर्ने अवस्था भए सम्बन्धित पक्षलाई तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।

यसैबीच, सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएर राखिएको जानकारी भए गोप्य रूपमा सूचना उपलब्ध गराउन आम नागरिकलाई पनि अनुरोध गरिएको छ।

समितिले समस्याग्रस्त सहकारीका सञ्चालकहरूलाई आफ्नो दायित्व फछ्र्योट गर्न, ऋण असुली प्रक्रियामा सहकार्य गर्न तथा सम्पत्ति पहिचान र व्यवस्थापनमा पूर्ण सहयोग गर्न निर्देशन दिएको छ।

तोकिएको समयभित्र सहयोग नगरे वा अटेर गरे प्रचलित कानुनअनुसार कडा कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत कार्यालयले दिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका