काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै ‘पार्टी जागरण अभियान’ सुरु गर्ने घोषणा गरेको छ। अभियान प्रभावकारी बनाउन केन्द्रीय पदाधिकारीबाहेक अधिकांश केन्द्रीय सदस्यहरूलाई पालिका–केन्द्रित जिम्मेवारी तोकिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि)–२ जारी गर्दै सचिवालय बैठकका निर्णय मातहतका कमिटीसम्म पुर्याउन र संगठन सुदृढीकरण गर्न अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्।
एमालेले केन्द्रीय सदस्यहरूलाई जनसंगठन, विभाग तथा पालिकास्तरका जिम्मेवारीसमेत दिएको जनाएको छ। केन्द्रीय सदस्य मात्र पर्याप्त नहुने निष्कर्षसहित केन्द्रीय निकायका सदस्य तथा अग्रणी कार्यकर्तालाई पनि अभियानमा खटाइने भएको छ।
कार्य विभाजनअनुसार अध्यक्ष ओलीले समग्र अभियानको नेतृत्व गर्नेछन् भने महासचिवलाई संगठनात्मक काम र केन्द्रीय कार्यालय समन्वयको जिम्मेवारी दिइएको छ। उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभाग र विभिन्न फाँटको समन्वय जिम्मेवारी दिइएको छ।
पार्टीका सचिवहरूमध्ये अधिकांशलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ। साथै, विभिन्न विभाग तथा प्रदेशस्तरीय नेतृत्वसमेत पुनः व्यवस्थित गरिएको एमालेले जनाएको छ।
एमालेका अनुसार केन्द्रीय सदस्यहरूलाई विशेषगरी आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा केन्द्रित गरिनेछ। आवश्यकताअनुसार एक जना केन्द्रीय सदस्यलाई बढीमा दुई वटा पालिकाको जिम्मेवारी दिइने व्यवस्था गरिएको छ।
पार्टी नेतृत्वले निर्वाचनपछि सुस्त बनेका कमिटी र संगठनात्मक गतिविधिलाई यो अभियानमार्फत पुनः सक्रिय बनाउने अपेक्षा गरेको छ।
यसैबीच, एमालेले प्रचार तथा प्रकाशन विभागको नेतृत्व र विभिन्न जनसंगठनको इन्चार्जसमेत तोकेको जनाएको छ।


